वीरगन्ज,३०कार्तिकःमधेस प्रदेशका खेलकुदमन्त्री प्रमोद जयसवालले यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महत्तोसहित उक्त टिममा सहभागी मधेस प्रदेशका खेलाडीहरुलाई जनही १ लाख ५१ हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै खेलकुदमन्त्री जयसवालले उक्त घोषणा गरेका हुन् । मन्त्री जयसवालले यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमलाई बधाई दिदैं छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमकी कप्तान महत्तोसहितका खेलाडीहरुको मनोबल बढाउन नगद पुरस्कारसहित सम्मानित गर्न लागिएको बताएका छन् ।
हालै सम्पन्न छनौट प्रतियोगितामा मधेस प्रदेशबाट नेपाली टिममा कप्तान पूजा महत्तो तथा साना प्रबिन र एलिशा यादव सहभागी थिए । उनिहरु तीनै जनालाई मन्त्री जयसवालले नगद पुरस्कारसहित सम्मानित गर्ने घोषणा गरेका हु्न् ।
उक्त भिडियो पोष्टमा मन्त्री जयसवालले आगामी डिसेम्बर १५ देखि १८ तारिकसम्म मलेशीयामा हुने यू–१९ महिला एशिया कप र जनवरी १८ देखि फेब्रुअरी २ तारिकसम्म मलेशियामै हुने यू–१९ महिला विश्वकपको सफलताको कामनापनि गरेका छन् ।
मधेस प्रदेशका खेलााडीहरुको मनोबल बढाउँदै खेलकुदको विकासका लागि प्रदेश सरकारले प्रतिबद्धताका साथ काम गरिरहेकोपनि बताएका छन् ।

