Madhes Khabar
खेलकुद

पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले कुवेतलाई १ सय ६५ रनले हरायो

काठमाडाैं,२७कार्तिक: कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १ सय ६५ रनले हराएको छ ।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै अलआउट भयो । कुवेतकी कप्तान जीफा जिलानीले सबैभन्दा धेरै ३६ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले ५ विकेट लिइन् । यस्तै रचना चौधरी र सिमाना केसीले २÷२ विकेट लिए ।

यसअघि यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनाएकाे थियो । नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाइन् । ५७ बलमा शतक बनाएकी पूजा ६९ बलमा १ सय ३० रन जोड्दै नटआउट रहिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् । यस्तै सोनी पाख्रिनले नटआउट ४२ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले १/१ विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग २/२ खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

Related posts

वीरगन्ज गोल्डकप फुटबलः झापालाई हराउँदै आर्मी सेमिफाइनलमा

MadhesKhabar

एसियन कप फुटबलमा भारतमाथि अस्ट्रेलियाकाे जीत

MadhesKhabar

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, टि–२० विश्वकप क्रिकेट खेल्ने बाटो खुल्यो

MadhesKhabar

Leave a Comment