वीरगन्ज,१२कार्तिक: वीरगन्ज महानगरपालिकाले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियानलाई थप तीव्रता दिँदै रातिपनि अनुगमन गरिरहेको छ ।
दैनिकरुपमा दिनमा अनुगमन गर्दै आएको महानगरको टोलीले राति अनुगमनको क्रममा साेमबार एक उद्योगलाई जरिवाना गरेको छ ।सिर्सिया नदीमा सोझै ढल मिसाइ नदी प्रदुषण गरेको भन्दै टोलीले श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको महानगरकाे वातावरण शाखाका प्रकाश एैरेले जानकारी गराए ।
मेयर राजेशमान सिंहको नेतृत्वमा महानगरको टोलीले सिर्सिया नदीमा हुने प्रदूषणलाई रोक्न कडा अनुगमन गरिरहेको छ । सिंहले पद ग्रहण गरेको ३० महीनामा नदीको प्रदूषणलाई ६० प्रतिशतले घटाउन सफल भएको महानगरको दाबी छ ।
महानगरले हाल छठ पर्वलाई लक्षित गर्दै कात्तिक १ गतेदेखि दैनिकरूपमा अनुगमन शुरू गरेको हो । वीरगन्ज र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा यहाँका विभिन्न उद्योगहरूको प्रदूषण नियन्त्रणमा प्रयास जारी रहेको छ ।
यसबीच, दुबै स्थानीय तहहरूले उद्योगहरूलाई श्रीसिया नदीमा प्रदूषित पानी नफाल्न निर्देशन दिएका छन्, जसका कारण यसपटक छठ पर्व सिर्सिया नदीमै मनाउन सकिने वातावरण सिर्जना भएको महानगरले जानकारी दिएको छ ।
वीरगन्जको लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको थियो । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका थिए ।नदीलाई प्रदुषण मुक्त बनाउने अभियान थालेको वीरगन्ज महानगरपालिकाले पहिले पनि पाँच वटा उद्योगहरुलाई जनही तीन तीन लाख रुपैयाँका दरले जरिवाना गरेको थियो । जसमध्ये श्री सिद्धी टेक्स्टाइल पनि एक थियो । जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी सिधै बिसर्जन गर्दै आएकोमा पछिल्लोपटक ती उद्योगहरुमा महानगरले दण्ड स्वरुप फोहर थुपारेपछि नदी सफा देखिन थालेको थियो ।