वीरगन्ज,०९कार्तिकःवीरगन्जबाट कैलाली र बाँके जाँदै गरेका दुई वटा मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवै ट्रकमा गरी राजश्व छलेर भित्र्याइएका करिब दुई करोड रुपैयाँ मूल्यका मालसामान रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार , वीरगन्जबाट कैलाली र बाँके जाँदै गरेको प्र.०१–००१ ख २६९९ र सु.प.प्र.०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक प्रहरीले बिहीबारराति घण्टाघरबाट नियन्त्रणमा लिएको हो ।
घण्टाघर चोकमा राति १० बजेतिेर ती दुवै ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढीका खुद्रा तथा औषधी गरी १ करोड ८६ लाख ९ हजार ६७८ रुपैयाँ रुपैयाँ बराबरको सामान रहेको भेटिएपछि दुवै ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

