Madhes Khabar
राजनीति

जसपा मधेसको मात्र नभई देशकै शक्तिशाली पार्टी बन्छ : मन्त्री यादव

बारा,३कार्तिक:खानेपानी मन्त्री प्रदीप यादवले जसपाले आगामी दिनमा मधेस प्रदेशसँगै देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने दाबी गरेका छन्।

बाराको कलैयामा शनिबार आयोजित जसपा बारा जिल्ला कार्यसमिति घोषणा सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले जसपा पार्टीले सङ्गठन विस्तार र प्रभावकारी जनसम्पर्कका माध्यमबाट मधेससँगै देशको समृद्धि र अधिकार सुनिश्चित गर्ने बताए । “हाम्रो शक्ति जनताको साथ हो, र जसपा यही जनताको भावना बोकेर अघि बढ्ने पार्टी हो,” उनले भने ।

जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)सँग छुटिएको पृष्ठभूमिमा बोल्दै उक्त कदमलाई राजनीतिक आवश्यकता भएको बताए ।उनले भने, “जसपा नेपालसँग छुटिएर जसपाको निर्माणले मधेसको विकास र अधिकार सुनिश्चित गर्ने अभियानलाई थप बलियो बनाएको छ ।”

मन्त्री यादवले जसपाले जनताको घरदैलोसम्म आफ्नो एजेन्डा पुर्‍याउन सङ्गठनलाई अझै व्यापक बनाउने योजना अघि सारेको बताए।उनले भने, “हरेक कार्यकर्ताले इमानदारीका साथ पार्टीको नीति र कार्यक्रमलाई जनतामा पुर्‍याउनु पर्छ । हामी सङ्गठन विस्तारमा तीव्रता ल्याएर जसपालाई मधेसको ठूलो राजनीतिक शक्ति बनाउनुपर्छ ।”

सङ्गठन सुदृढीकरणका लागि पार्टीका नेता–कार्यकर्ताहरूलाई सक्रिय रूपमा जनतासँग संवाद गर्ने, गाउँ-गाउँमा भेटघाट कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने निर्देशन दिँदै उनले भने, “हामीले जनताको मन जित्न जनमुखी कार्यक्रम ल्याउनुपर्छ र विश्वास दिलाउनुपर्छ कि जसपा नै उनीहरूको भविष्य निर्माणको सहयात्री हो ।”

उनले मधेसमा खानेपानी, स्वास्थ्य, शिक्षा, र रोजगारको समस्या समाधान गर्दै कृषि, पर्यटन, र उद्योगको विकासमार्फत दीर्घकालीन आर्थिक परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । “सरकारले ठोस नीति बनाएर खानेपानीको अभाव अन्त्य गर्दै मधेसका हरेक घरमा स्वच्छ पानी पुर्‍याउने काम गरिरहेको छ,” मन्त्री यादवले भने ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि मधेसको विकास र अधिकारका लागि अझै धेरै सङ्घर्ष गर्नुपर्ने बताए । “मधेसवासीको अधिकारका लागि हाम्रो सङ्घर्ष जारी छ, र अब जसपा नै यो परिवर्तनको नेतृत्व गर्नेछ,” उनले भने ।

Related posts

काँग्रेस सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बित

MadhesKhabar

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा आजपनि भएन सुनुवाइ

MadhesKhabar

पर्सा–४ का कांग्रेस उम्मेदवार रिजालले पनि सार्वजनिक गरे चुनाव खर्च

MadhesKhabar

Leave a Comment