वीरगन्ज,०१कात्तिकःसंघीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले अजय चौरसियाले मुस्लिम धर्मावलम्बीको हक अधिकार संविधानमा अझ धेरै सुनिश्चित गरिने बताएका छन् ।
बिहीबार वीरगन्जमा नेपाल मुस्लिम संघ पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तरकृया कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका चौरसियाले संविधानमा मुस्लिम धर्मावलम्बीको हक अधिकार अझ धेरै सुनिश्चित गर्न सरकार र कांग्रेस लाग्ने बताए ।उनले भने,‘कांग्रेस र अहिलेको सरकारले मुस्लिम धर्मावलम्बीको हक अधिकार कुण्ठित गर्ने कार्य कदापी गर्दैन । बरु मुस्लिम धर्मावलम्बीका हक अधिकारलाई अझ सबल बनाउने काम गर्छ ।’
कानुनमन्त्री चौरसियाले नेपालमा हिन्दु,मुस्लिम लगायतका सबै धर्मावलम्बीहरु सदियौंदेखि आपसमा मिलेर बस्दै आएकाले कसैले चाहेरपनि धार्मिक सदभाव बिथोल्न नसक्ने दाबी गरे ।उनले भने,‘यदि कसैले धार्मिक भाइचारा र सदभाव बिगार्न खोज्छ भनेपनि त्यो सफलपनि हुन सक्दैन ।’
नेपालमा रहेका सबै धर्म,जातजातिबिचमा आपसी सद्भाव कायम हुनुपर्छ भन्ने मान्यता राख्ने पार्टी कांग्रेस रहेको भन्दै उनले भने,‘ म हिन्दु र मुस्लिम दुवै धर्मका अगुवालाइ संयमता अपनाउन आग्रह गर्छु । यदि कसैले धार्मिक भाइचारा बिगार्ने कुनै गतिविधी गर्छ भने संयम नगुमाई त्यसलाई शान्त बनाउनु हामीसबैको दायित्व हुनुपर्छ । किनकि धार्मिक द्वन्द्वले कसैको हित गर्दैन ।’कांग्रेसले पार्टीमा रहेका मुस्लिम नेतालाई अवसर र सम्मान दिन कहिल्यैपनि कञ्जुस्याँइ नगरेको जिकिर उनले गरे ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुस्लिम धर्म मान्ने व्याक्ति कम्युनिष्ट हुनै नसक्ने बताए । उनले भने,‘ जो आस्तिक छ , जसले धर्म मान्छ उ कम्युनिष्ट हुनै सक्दैन । त्यसमापनि मुस्लिम धर्मावलम्बी त झन कम्युनिष्ट बन्नै सक्दैन ।’ उनले धर्म मान्ने व्याक्ति काँग्रेसमा मात्र अटाउन सक्ने तर्कपनि गरे ।
राज्यका सबै संरचना समावेशी बन्दै गरेको अवस्थामा कांग्रेसले आफ्नो संगठनलाई पनि समावेशी र लोकतान्त्रीक बनाउँदै अगाडि बढेको भन्दै उनले काँग्रेसको आगामी महाधिवेशनबाट केन्द्रिय पदाधिकारीमा मुस्लिम समुदायको सहभागीता अझ धेरै बढ्ने बताए ।
नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अध्यक्षतामा भएको कार्यक्रममा मधेस सरकारका कृषिमन्त्री जनार्दन क्षेत्री, नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष डाक्टर अताउल मन्सुर, केन्द्रिय उपाध्यक्ष महम्मद साहबुदिन, मधेस प्रदेश अध्यक्ष हाजी साहब,संघका संस्थापक अध्यक्ष अब्दुल सतार,पूर्वमन्त्री सुरेन्द्र चौधरी र ओमप्रकाश शर्मा,कांग्रेस पर्साका उपसभापतिद्व रामनारायण कुर्मी र अशोक गुप्ता, मधेस प्रदेश सभा सदस्य श्याम पटेल,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,विपी चिन्तन प्रतिष्ठान पर्साका अध्यक्ष फजिल अहमद लगायतलेपनि सम्बोधन गरेका थिए ।

