
वीरगन्ज,२६असोजः जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले विभिन्न दल चहार्दै हिडेकाहरुले पार्टी छाडेकोले त्यसले पार्टीमा कुनै असर नपरेको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार जनमत पार्टीका केन्द्रिय सदस्य शशीकपुर मियाँ, करिमा बेगम, लगायतका नेताहरु जसपा नेपालमा प्रवेश गरेको सन्दर्भमा प्रतिक्रिया दिदैं जनमतका जिल्ला अध्यक्ष सर्राफले भने,‘उहाँहरुले पार्टी छाडेर गएपछि हाम्रो पार्टीलाई कुनै असर परेको छैन ।बरु अब पार्टीमा नयाँ नेतृत्वको विकास हुने ढोका खुल्ला भएको छ ।’
अध्यक्ष सरार्फले विगतमा अनेकथरीका दलहरुमा प्रवेश गर्दै छाड्दै आएकाहरु अहिले जनमत पार्टी छाडेर जानु कुनै नौलो विषय नभएको बताए ।पार्टीमा रहदाँ उनिहरुले संगठन निर्माण भन्दापनि अन्य कुरामा मात्रै तल्लीन रहेको र केन्द्रिय सर्कुलरकोपनि अवज्ञा गर्दै आएको अध्यक्ष सर्राफले बताए । उनले भने,‘ उहाँहरु पार्टी छाडेर अन्त जाँदा पार्टी झन् बलियो र लोकप्रिय हुने विश्वास लिएका छौं ।’
अध्यक्ष सर्राफले अब पार्टीमा रहेका युवा नेताहरुले नेतृत्व सम्हाल्ने अवसरपनि पाएको भन्दै पार्टीमा नयाँ उर्जापनि थपिएको जिकिर गरे । उनले जनमत पार्टीको नीति र सिद्धान्त भन्दा बाहिर जान खोज्ने कोहिपनि नेताकार्यकर्तालाई स्थान नरहनेपनि बतााए ।

