वीरगन्ज,१७असोजःवीरगन्जका दुई सरकारी कार्यालयमा सेवाका लागि काखे बालकसहित आउने महिला सेवाग्राहीका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो ।
वीरगञ्ज लेडिज सर्कल–३ का महिलाहरुको सहयोगमा निर्मित ती दुवै स्तनपान कक्षको बुधबार एक औपचारिक कार्यक्रम गरेर उद्घाटन गरिएको हो । जिल्ला प्रशासन कार्यालयको स्तनपान कक्षको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र जिल्ला प्रहरी कार्यालयको स्तनपान कक्षको प्रहरी नायब उपरीक्षक दीपक भारतीले उद्घाटन गरेका थिए ।
सेवाग्रहीको बढी चाप हुने ती दुई कार्यालयमा सेवा लिनका लागि दुधे र काखे बच्चासहित आउने महिलाहरुले आफना बालबालिकालाई स्तनपान गराउनका लागि समस्या भइरहेको गुनासो आएपछि १ लाख रुपैयाँको लागतमा दुवै कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको वीरगन्ज लेडिज सर्कल–३ की अध्यक्ष खुश्बु सिंघानियाले बताइन् ।

