काठमाडौं,१७ असोज :भारत सरकारको अनुदान सहयोगमा नेपालमा थप दुई पेट्रोलियम पाइपलाइन बन्ने भएको छ ।बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर र भारतको सिलिगुडीदेखि झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना बन्ने निश्चित भएको हो । यस्तै चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर र झापाको आरआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनलपनि भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो ।बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा बिहीबार सम्झौता भएको हो । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ ।
यसअघि यो परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुंगो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अघिल्लो वर्ष नेपाल र भारतीका प्रधानमन्त्री बीच अनुदानमा यी पाइपलाइन बनाउने बारे छलफल भएको थियो ।
यसअघि नेपाल र भारतबीच अन्तर देशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगञ्ज भदौ २०७६ मा उद्घाटन भई सञ्चालनमा छ । यो पाइपलाइनको लम्बाइ ६९.१ किलोमिटर छ ।साभारः अनलाइनखबर

