Madhes Khabar
समाचार

क्षतिग्रस्त भएका खानेपानी प्रणालीहरूलाई तत्काल पुनःस्थापना गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं, १२ असोज:खानेपानी मन्त्री प्रदीप यादवले हालैको अविरल वर्षाका कारण देशभर क्षतिग्रस्त भएका खानेपानी प्रणालीहरू पुनःस्थापनाका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिएका छन्।

शनिबार मन्त्रालयमा आकस्मिक बैठक बोलाएर मन्त्रालयका उच्च अधिकारीहरूसँग क्षतिग्रस्त क्षेत्रहरूको वर्तमान अवस्थाको बारे जानकारी लिदैं मन्त्री यादवले पुनःस्थापनाका लागि तदारुकताका साथ काम गर्न निर्देशन दिए।

सचिव, विभागीय प्रमुख र अन्य सम्बन्धित कर्मचारीहरूको उपस्थितिमा भएको बैठकमा मन्त्री यादवले ‘विशेष कार्यदल’ गठन गरी क्षतिको यथाशीघ्र मूल्याङ्कन र आवश्यक कदम चाल्न निर्देशन समेत दिए ।

उनले भने, “हामी यो चुनौतीपूर्ण अवस्थामा जिम्मेवारीपूर्वक काम गर्दै छौं । म स्वयं भोलि बिहानैदेखि प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षणमा जानेछु । नियमित खानेपानी आपूर्ति छिटोभन्दा छिटो सुचारु गर्न र आवश्यक प्राविधिक तथा स्रोतसाधनको तुरुन्त व्यवस्था गर्न मैले निर्देशन दिइसकेको छु ।”

मन्त्री यादवले प्रभावित क्षेत्रका जनताले पानीको अभाव झेल्न नपरोस् भन्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै भने, “यस सङ्कटको समाधान गर्न कुनै कसर बाँकी राख्ने छैनौँ । तत्काल मर्मत तथा पुनःनिर्माणका लागि सबै सम्भावित स्रोत र साधन परिचालन भइरहेको छ । चाँडै नै पानी आपूर्ति पुनः सञ्चालनमा ल्याउनेछौँ ।”

प्राकृतिक विपत्तिका कारण दसैँको मुखमा नागरिकको दैनिक जीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै उहाँले सबैलाई सुरक्षित स्थानमा बस्न र बाढी डुबानबाट जोगिन उच्च स्थानमा आश्रय लिन आग्रह गरे। साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरकारी निकायहरूलाई उद्धार र राहत कार्यमा खट्न आग्रह गरे।

लगातारको भारी वर्षाले देशभरका पानी आपूर्ति प्रणालीहरूमा व्यापक क्षति पुर्‍याएको छ । बागमती नदीमा आएको बहावका कारण सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानीको धमिलोपनले गर्दा प्रशोधन प्रक्रिया अवरुद्ध भएको छ । यसले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति ठप्प भएको छ ।

त्यस्तै, ललितपुरको फर्पिङ्गस्थित जलविद्युत परियोजनामा पेनस्टक पाइप विस्फोट हुँदा पानी वितरण रोकिएको छ । सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखामा रहेका महत्त्वपूर्ण उपकरणहरू डुबेर क्षतिग्रस्त भएका छन् ।

मन्त्रालयको प्रारम्भिक अनुमान अनुसार, यस प्रकोपका कारण करिब एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति प्रभावित भएको छ । यो क्षति पुनःस्थापना गर्न विशेष योजना अनुरूप कार्य अघि बढिरहेको मन्त्री यादवले बताए ।

Related posts

पर्साका एसपी ढुंगेलकाे सरुवा,अब पर्सामा एसपी मिश्र आउँदै

MadhesKhabar

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

MadhesKhabar

भारतबाट लागू औषधको कारोबार गर्ने गिरोह वीरगन्जमा पक्राउ, ७६१७० पिस ट्रामाडोलपनि बरामद

MadhesKhabar

Leave a Comment