
काठमाडौं,१२असोजःअविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर हालसम्म ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार, बाढी पहिरोबाट हालसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा ३४ जना , बागमती प्रदेशका ५ जिल्लामा १९ जना र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ ।
यस्तै बाढी पहिरोबाट विभिन्न जिल्लामा गरेर अहिलेसम्म ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार, शनिबार साँझ सम्म २ हजार १०३ जनाको उद्धारपनिन गरिएको छ ।
कोशी प्रदेशमा १५२, मधेस प्रदेशमा १० , काठमाडौं उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर अहिलेसम्म १९५ वटा घरमा क्षति पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ ।
नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको छ ।

