Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा रहेका खोलाहरुको ठेक्का नलाग्दा तस्करहरु मालामाल,उपभोक्ताहरु भने मर्कामा

फाइल फोटो

प्रमोद यादव

पर्सा,११असोजःपर्सामा रहेका खोलाहरुको पालिकाहरुले ठेक्का नलगाउँदा ती खोलाहरुबाट नदीजन्य पदार्थ(बालुवा,गिट्टी र ढुंगा)को अवैध उत्खनन् र तस्करी व्यापक रुपमा भइरहेको छ ।पर्सामा भेडाहा,कर्जनिया,सिंघाई,जमुनिया,भलुवाही,गादी,ओरिया गरी ८ वटा खोला छन् । ती खोलाहरुको चालु आर्थिक वर्षमा असोज १ गतेदेखि नै सम्बन्धित पालिकाहरुले नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का लगाउनुपर्नेमा अहिलेसम्मपनि ठेक्का लगाएका छैनन् ।

सरकारले देशैभरका खोलामा प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्मको लागि नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाउँदै आएको छ ।यो अवधिमा प्राविधिक टोलीले नदीजन्य पदार्थको मूल्यांकन गर्ने र प्रारम्भिक वातावरणीय परीक्षण (इआईए) प्रतिवेदन तयार गरेका पालिकाहरूलाई नदीजन्य पदार्थको उत्खनन्का लागि इजाजत प्रदान गर्ने गर्छ ।एकपटक प्रारम्भिक वतावरणीय परीक्षण प्रतिवेदन तयार गरेका पालिकाले दुई वर्षसम्म नदीजन्य पदार्थको उत्खनन गर्नको लागि ठेक्का लगाउन सक्ने प्रावधान छ।

दैनिक र वार्षिक उत्खननको तालिका अनुसार पालिकाहरूले नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने हुन्छ । यसको अनुगमन जिल्ला समन्वय समितिले गर्छ । जिल्ला समन्वय समितिमार्फत वातावरणीय परीक्षण प्रतिवेदन तयार हुन्छ र त्यसलाई डिभिजन वन कार्यालयले अन्तिम रूप दिएपछि नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का लाग्ने गर्छ ।

तर असोज १ गते बितेको १० दिन भइसक्दापनि पर्साका कुनैपनि खोलामा पालिकाहरुले नदीजन्य पदार्थको ठेक्का नै लगाएका छैनन् ।जसका कारण ती खोलाहरुबाट अहिलेपनि गिट्टी,बालुवा र ढुंगाको अवैध उत्खनन् र तस्करी व्यापक रुपमा भइरहेको छ ।

भेडा खोला वीरगन्ज महानगरपालिका, कर्जनिया र सिंघाही खोला पर्सागढी नगरपालिका, जमुनिया खोला सखुवा प्रसौनी र पटेर्वा सुगौली गाँउपालिका, भलु्वाही खोला जीराभवानी र पटेर्वा सुगौली गाँउपालिका , गादी खोला पटेर्वा सुगौली, ओरिया खोला जीराभवानी ,जगरनाथपुर , छिपहरमाई र ठोरी गाँउपालिका मातहत पर्छन् ।

जमुनिया खोलामा सखुवा प्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाबिचको विवादले तथा भलुवाही खोलामा जीराभवानी र पटेर्वा सुगौली गाँउपालिकाबिचको विवादले ठेक्का लाग्न नसकेको हो । बाँकी खोलाहरुमा सम्बिन्धत पालिकाले नै ठेक्क लगाउन चासो देखाएका छैनन् ।

छिपहरमाई गाँउपालिका मातह पर्ने ओरिया खोलामा भारतीयहरुले अवैध उत्खनन् गरेर नदीजन्य पदार्थ भारततर्फ तस्करी गर्दै आइरहेका छन् ।

पर्सामा खोलाहरुको ठेक्का नलाग्दा सडक,नाला,पुल, भवन इत्यादि निर्माणका लागि निर्माण कम्पनिका ठेकेदार र नागरिकले नदीजन्य पदार्थको अवैध उत्खनन् र तस्करी गरिरहेका कारोबारीसंग महङ्गो भाउमा बालुवा,गिट्टी र ढुंगा खरद गर्न बाध्य भएका छन् । प्रति ट्याक्टर ३ देखि ४ हजार रुपैयाँ पर्ने बालुवा अहिले बजारमा ५ देखि ६ हजार रुपैयाँसम्ममा बिक्रि वितरण भइरहेको स्थानीयले बताएका छन् ।

Related posts

मधेस सरकारकाे ६ वर्षमा ६ काण्ड : छानबिन गर्न जनमत पार्टीको माग

MadhesKhabar

वीरगन्जको शम्सानघाटमा गाडिएको बालककाे शव प्रहरीले खनेर निकाल्याे,आमा-बुबा दुवै पक्राउ

MadhesKhabar

वीरगन्जको मधेसी शहिद स्मारकमा पुगे रास्वपा उम्मेदवार कानु,शहिदका सालिकमा दिए श्रद्धाञ्जली

MadhesKhabar

Leave a Comment