Madhes Khabar
स्वास्थ्य हेडलाइन

जापनिज इन्सेफ्लाइटीस रोगको जोखिममा पर्सा जिल्ला : युवकको मृत्यु, बालिकाको उपचार चल्दै

वीरगन्ज,२२भदौं :पर्सामा जापनिज इन्सेफ्लाइटीस रोगबाट एक जना युवकको मृत्यु भएको छ । पर्सामा यस वर्ष हालसम्म २ जनामा यो रोगका बिरामी भेटिएकोमा ती मध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको र १ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपाालिका वडा नम्बर १ बजार छपकैयाका ३० वर्षिय युवक रहेका छन् । गत भदौं ८ गते जापनिज इन्सेफुलाइटी रोगको संक्रमण पुष्टि भएका ती युवकको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा ५ दिनपहिले मृत्यु भएको ठाकुरले मधेसखबरलाई जानकारी दिए ।

यस्तै भदौं ५ गते संक्रमण पुष्टि भएकी पर्साकै पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ३ की तीन वर्षिया बालिकाको भने हाल वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको ठाकुरले बताए ।

पर्सा जिल्लामा गत वर्षपनि जापनिज इन्सेफ्लाइटीसका २ जना बिरामी भेटिएका थिए । ठाकुरका अनुसार, गत वर्ष पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २८ र जिराभवानी गाँउपालिका वडा नम्बर ५ मा गरी २ जनामा पनि जापनिज इन्सेफ्लाइटीसको संक्रमण भेटिएको थियो । उनिहरु दुवै जना उपचार पश्चात निको भएका थिए ।

देशैभरी यस वर्ष हालसम्म पनि जापनिज इन्सेफ्लाइटीसका ३३ जना बिरामी भेटिएका छन् । तीमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा ६ जना छन् । यस्तै झापा जिल्लामा ३ जना उक्त रोगको बिरामी भेटिएको ठाकुरले बताए ।

यसवर्ष देशभर हालसम्म पर्सासहित २२ जिल्लामा पनि जापनिज इन्सेफ्लाइटीसका बिरामी भेटिएकोपनि उनले बताए ।दुई वर्षदेखि लगातार बिरामी भेटिइरहेकाले यो रोगको जोखिममा पर्सा जिल्लापनि रहेको उनले बताए ।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, जापनिज इन्सेफ्लाइटीस रोग मुख्य गरेर धान खेती बढी हुने ठाँउ तथा सुंगुर,बंगुर र हाँस पालन गर्ने समुदायमा बढी देखिन्छ । यो रोग जुनसुकै उमेर समहुका मानिसलाई लाग्न सक्छ । तर १५ वर्षमुनिका बालबालिकामा बढी लाग्ने सम्भावना हुन्छ ।

जापनिज इन्सेफ्लाइटीस क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट हुने किटजन्य रोग हो । यो रोग भाइरसको संक्रमणबाट हुन्छ । यो रोगको भाइरसबाट संक्रमित सुंगुर,बंगुर र हाँसलाई टोकेपछि उक्त लामखुट्टे संक्रमित हुने र संक्रमित उक्त लामखुट्टेले मानिसलाई टोकेपछि उक्त मानिस संक्रमित हुन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

जापनिज इन्सेफ्लाइटीस रोगका लक्षणहरु एक्कासी उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, वाक्वाकी लाग्ने,घाँटी अर्रो हुने,शरिर काम्ने, बेहोश हुने,पक्षघात हुने लगायतका रहेको ठाकुरले ले मधेसखबरलाई बताए । लक्षण देखिएका बिरामीको समयमै उचित उपचार नपाएमा मृत्यु हुने गरेको उनले बताए ।ठाकुरका अनुसार, जापनिज इन्सेफ्लाइटीस रोगको संक्रमण भएका १०० बिरामी मध्ये २५ देखि ३० जनाको मृत्यु हुने गरेको छ ।

यो रोग लाग्नुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा प्रभावकारी उपाय रहेको ठाकुरले बताए ।त्यसका लागि सुंगुर,बंगुर र हाँस घरभन्दा टाढाको स्थानमा खोर बनाएर पाल्ने, सुत्दा झुल टाँगेर सुत्ने,साँझ र बिहान सकेसम्म खेतबारीमा नजाने जस्ता उपाय अपनाउनु पर्ने ठाकुरले बताए । यो रोगको जोखिममा पर्सा जिल्लापनि रहेकाले त्यसैलाई मध्यनजर गरेर स्वास्थ्य कार्यालय पर्साले जिल्लाका १४ वटै पालिकामा पालिकासंग समन्वय गरी सर्च एण्ड डिस्ट्रोय अभियान चलाइरहेकोपनि जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

 

Related posts

वीरगन्जका ग्रामीण वडामा स्वास्थ्य सेवा विस्तार गर्दै महानगर : लालपर्सामा पनि बर्थिंग सेन्टर सञ्चालन

MadhesKhabar

स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

MadhesKhabar

जालिमका छोरा मतपत्र र स्वास्तिक छाप सहित पक्राउ

MadhesKhabar

Leave a Comment