काठमाडौं,२०भदौं : सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्रालयको निर्देशन पालना नगरेका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्द गर्नुपरेको बताएका छन्।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा काफ्लेको अमेरिका भ्रमण रद्द गरेको विषयमा सांसदहरुले ध्यानाकर्षण गराएपछि मन्त्री गुप्ताले मन्त्रालयको निर्देशन नटेरेका कारण अन्तिम समयमा भ्रमण रद्द गरिएको बताए।
उनले यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको समेत दाबीपनि गरे। काफ्लेलाई छलफलका लागि मन्त्रालय बोलाउँदासमेत नआएको मन्त्री गुप्ताको भनाइ छ।
’जीतपुरसिमरा उपमहानगरमा सम्पूर्ण बोर्ड सदस्यमध्ये मेयर एकातिर र बाँकी सबै सदस्यहरू अर्कोतिर हुनुहुन्छ। पालिकाकै कार्यालयमा तछाडमछाड भएको भिडियो पनि मैले पाएको छु। त्यसैका कारण मन्त्रालयमाथि मुद्दा पनि परेको छ। अनि चार–पाँच दिनदेखि मन्त्रालय आउनुस्, छलफल गरौं भन्दा उहाँ काठमाडौंमै भएर टेर्नुभएन। कर्मचारी साथीहरूको अभिभावक हो नि मन्त्रालय। तर, उहाँले हामीलाई टेर्नुभएन। लिखित र मौखिकरूपमा भन्दा पनि नटेरेपछि भ्रमण रद्द गरेका हौं,’ मन्त्री गुप्ताले भने। उनले मुद्दा पनि खेप्ने र नटेर्ने कर्मचारीलाई अमेरिका भ्रमणमा पनि पठाउने हुँदैन भन्ने निष्कर्षमा पुगेर भ्रमण रद्द गरेको बताए।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई आफूले नचिन्ने भएपनि पूर्वाग्रहीका कारण भ्रमण रद्द गर्नु उचित नभएको बताइन्। राजनीतिक आस्थाका कारण भ्रमण रद्द गर्ने काम नगर्न उनले सुझाव दिइन्।
यूएसएडले १७ जुलाई २०२४मा पत्र लेख्दै ९ देखि १२ सेप्टेम्बरसम्मको कार्यक्रमका लागि काफ्लेलाई निम्तो दिएको थियो। मन्त्रालयले ६ साउनमा उनलाई मधस प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी अमेरिका जाने टोलीमा मनोनयन गरेको थियो ।साभार : अन्नपूर्णपोष्ट

