काठमाडौं,३साउन:संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले खाेल्न नसकेका भ्रष्टाचारका सबै फाईल अहिलेकाे सरकारले खाेल्ने उद्घाेष गरेका छन्।
काठमाडौंमा बुधबार आयाेजित एक कार्यक्रममा बाेल्दै पर्सा क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका मन्त्री गुप्ताले भने,`यसअघिको प्रचण्ड नेतृत्वको सरकारले फाइल खोल्छौंमात्रै भन्याे तर वास्तविक रूपमा काम गर्न सकेन। वर्तमान सरकारले विगतकाे प्रचण्ड सरकारले खोल्छौँ भनेका सबै फाइल खोल्नेछ र छानबिन पनि अगाडि बढाउनेछ।´
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने कुरामा सत्यता नरहेको उनको दाबी छ । मन्त्री गुप्ताले उक्त आरोप लगाएर निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्टन्टमात्र गरेको आरोप गुप्ताले लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरू एक वर्षमा फेरिनेपनि उनले बताए ।उनले आगामी एक वर्षमा मन्त्रीहरूको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समुदायबाट पनि समावेशी प्रतिनिधित्व हुने तर्क गरे ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गर्दै उनले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको स्विकार गरे ।
‘अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार हो, एकल सरकार होइन । यो टिम एक वर्षका लागि हो । त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अर्को टिम आउँछ । दलित पनि आउँछन्, महिलाको सङ्ख्या पनि बढ्छ । राष्ट्रिय सहमतिको सरकारलाई सबै दल मिलाउनुपर्ने बाध्यता पनि छ । अरू पार्टीहरूसँग पनि कुरा हुँदैछ । एक/दुई दिनमा उहाँहरू पनि सहभागी हुनुहुनेछ,’उनले भने ।
प्रधानमन्त्री ओलीले विगतमा ३८ महिना सरकारको नेतृत्व गर्दा विकासले गति लिएको र सारा देशले उनलाई मन पराएको मन्त्री गुप्ताको दाबी छ । उनले अब आफूहरू पनि प्रधानमन्त्री ओलीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशले प्रधानमन्त्री ओलीकै नेतृत्व खोजेको दाबी गरे ।

