वीरगन्ज,१५असार : वीरगन्ज हेल्थ केयर हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय १५ जनाले रगत दान गरेका छन् ।
वीरगन्जको रक्त सञ्चार केन्द्र(ब्लड बैंक) मा रगतको चरम अभाव भएपछि केन्द्रको अनुरोधमा शनिबार हस्पिटल परिसरमै आयोजित रक्तदान कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय १५ जनाले रगत दान गरेका हुन् ।
रगत दान गर्नेहरुमा हस्पिटलका चिकित्सकहरु डाक्टर नाजदा खातुन,डाक्टर फिरोज अफजल, डाक्टर इल्ताफ अन्सारी , डाक्टर नौशाद आलम, डाक्टर विष्णुकान्त तिवारी,डाक्टर अजय महत्तो, डाक्टर धिरज, स्टाप नर्स विन्ध्या प्रधान,खुश्बु नेशाल निशा चौधरी,शारजाह खातुन, ज्योति श्रेष्ठ,रेडियोलोजी प्राविधिक अफसर आलम, हासिम अन्सारी लगायतका रहेको हस्पिटलका अध्यक्ष डाक्टर अबुलहैस अन्सारीले जानकारी दिए । यस्तै वीरगन्ज–१४ का वडाध्यक्ष महबुब इलाही, स्टार क्लबका शम्शाद अलीलेपनि रगत दान गरेको उनले बताए ।
वीरगन्जको रक्त सञ्चार केन्द्रमा केहि दिन यता रगतको जगेडा शुन्य भएर अस्पतालहरुमा बिरामीको उपचारमै समस्या भएपछि केन्द्रको आग्रहमा हस्पिटल परिसरमै रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष अन्सारीले बतााए । उनले भने,‘ रक्तदान कार्यक्रममा हस्टिपलका डाक्टर, नर्स र कर्मचारीहरुले स्वस्फूर्त रुपमा भाग लिएर रक्तदान गरे ।रगतको चरम अभाव भएका बेला हस्पिटलले सामाजिक उतरदायित्व बहन गर्ने अवसर पाउँदा हामी खुशी छौंं ।
यता रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेलेपनि केन्द्रमा केहि दिन यता रगतको चरम अभाव भभएपछि विभिन्न संघसंस्थाहरुलाई रक्तदान कार्यक्रम आयोजना गर्नका लागि अअनुरोध गरिरहेको बताए । गर्मी बढेसंगै संघसंस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम कम आयोजना भएपछि मागको तुलनामा रगतको आपुर्ति गर्न केन्द्रलाई समस्या भइरहेको उनले बताए ।
केन्द्रको अनुरोधमा वीरगन्ज हेल्थ केयर हस्पिटलले रक्तदान कार्यक्रम आयोजना गरेर १ सय १५ पिन्ट रगत संकलन गरिदिएका कारण केहिदिनका लाागि रगतको आपुर्तिमा सहजता हुनेपनि उनले बताए ।

