Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

भाडा बढेपछि सिमरा–काठमाडौं हवाई रुटमा ६५ प्रतिशत यात्रु घटे

बारा,२वैशाखः सिमरा–काठमाडौं हवाई रुटमा ६५ प्रतिशत यात्रु घटेका छन् । हवाई इन्धनको मूल्य वृद्धिपछि हवाई भाडा बढेकाले ६५ प्रतिशतसम्म यात्रु घटेका हुन् । दैनिक पाँच उडान हुने सिमरा–काठमाडौं रुटमा दशकौंपछि उडान भर्ने यात्रु ६५ प्रतिशत घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ ।

सिमरा विमानस्थलबाट यसअघि दैनिक ५/६ सय यात्रुहरूको ओहोरदोहोर हुने गरेकोमा अहिले करिब २ सयको हाराहारीमा यात्रु हुने गरेका छन् । इन्धनको मूल्यमा भएको वृद्धिले सिमरा–काठमाडौं रूटमा एक हजार एक सय रुपैयाँ हवाई भाडा बढेको छ । हाल सिमरा–काठमाडौंको भाडा ५ हजार ५५० रुपैयाँ रहेको छ भने काठमाडौं–सिमराको भाडा ५ हजार १५० रुपैयाँ रहेको छ ।

केही साता यता सिमरा–काठमाडौं रुटमा उड्ने बुद्ध एयरका एटिआर ७२ जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाएका छैनन् । बढीमा १५ मिनेट उडान समय रहने काठमाडौंबाट सिमरा विमानस्थलमा आउने विमानहरूले बढीमा २५ जना यात्रु लिएर उत्रने गरेको छ भने फर्कदा सिमराबाट करिब ३० यात्रु लैजाने गरेको निजी विमान कम्पनीहरूले जनाएको छ ।

सिमरा विमानस्थलमा रहेको बुद्ध एयरका कार्यालय प्रमुख सुरेश रेग्मीले पछिल्लो दुई साता यता सिमरा विमानस्थलमा हुने उडान बढीमा ५० प्रतिशतको औसत अकुपेन्सीमा चलिरहेको बताए । त्यसो त जेनजी आन्दोलनपछि अकुपेन्सी घटन सुरु भएको बताउँदै रेग्मीले भने,‘अहिले इन्धनको मूल्य बढ्दै जाँदा भाडा पनि बढेकाले मध्यम वर्गका यात्रुको आकर्षण पुरै घटेको छ ।’

पथलैया–वीरगन्ज औद्योगिक कोरिडोरमा रहेको सिमरा विमानस्थल अत्यधिक रूपमा राजनैतिक नेता–कार्यकर्ता राजनीतिक भेटघाटका लागि दौडधुप बढी गर्ने तथा व्यापार व्यवसायमा संलग्न उद्योगी व्यवसायीले बढी प्रयोग गर्ने विमानस्थलका रूपमा चिनिँदै आएको थियो । अहिले नयाँ सरकार बनेपछि पुराना दलका नेता–कार्यकर्ताको काठमाडौं आवतजावत घटेको छ ।

सिमराबाट काठमाडौँ सडक मार्गमा चार घण्टामा यात्रा गर्न सकिने भएकाले अत्यावश्यक बाहेकका यात्रुलाई हवाई यात्रा गर्नपर्ने बाध्यता नभएकाले पनि महँगो भाडामा यात्रुको आकर्षण घटने गरेको ट्राभल एजेन्टहरू बताउँछन् । चुरीयामाई ट्राभल्स सिमराका रोहित साहले भाडा बढेपछि प्लेन टिकट काट्ने यात्रु घटेको बताए । पहिले आफूले नियमित टिकट काट्ने गरेका विमानका यात्रुहरूले समेत सडक मार्ग प्रयोग गर्न थालेपछि विमान चढ्ने यात्रु घटेको उनले बताए ।

बारा, पर्सा, रौतहट र मकवानपुरको हेटौंडासम्मका यात्रुहरूले सेवा लिँदै आएका सिमरा विमानस्थलमा एटीआर ७२ जहाजमार्फत बुद्ध एयरले दैनिक पाँच वटा उडान गर्ने गरेपनि यति एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र नेपाल एयरलाइन्सले सेवा बन्द गरिसकेका छन् ।प्रकाश लम्साल /कारोबार

 

Related posts

हिम्मत भए दरबार हत्याकाण्डमा पूर्वराजालाई जेलमा काेच्न राप्रपा अध्यक्ष लिङ्देनकाे चुनाैती

MadhesKhabar

पर्सा–२ मा पूर्वमन्त्री चौरसियालाई यसपालि विद्रोहीसंगै युवा उम्मेदवारले पनि दिदैं छन् कडा चुनौती

MadhesKhabar

वीरगन्जमा रवि लामिछानेसंग ४ घण्टा लिइयो बयान,आजपनि पर्सा प्रहरीको हिरासतमा रहने

MadhesKhabar

Leave a Comment