
वीरगन्ज,३२जेष्ठः गर्मी बढेसंगै वीरगन्जको नारायणी अस्पतालमा सर्प दशंका बिरामीहरुको संख्या अत्याधिक बढेको छ । नारायणी अस्पतालमा पछिल्लो दुई हप्तामा मात्रै सर्प दशंका ६१ जना बिरामीहरु उपचारका लागि भर्ना भएको अस्पतालको आकस्मिक कक्षका प्रमुख डाक्टर उदयनारायणा सिंहले जानकारी दिए ।
जेष्ठ १५ देखि जेष्ठ ३१ गतेसम्म अस्पतालमा सर्प दंशका ६१ जना बिरामी उपचारका लागि आएको सिंहले बताए । तीमध्ये २० जना बालबालिका, २२ जना महिला र १९ जना पुरुष रहेको डाक्टर सिंहले जानकारी दिए ।
डाक्टर सिंहले भने,‘ जेष्ठ महिना उता कहिलेकाँही मात्र सर्पले टोेकेका बिरामी अस्पतालमा आउँथे । तर यो गर्मी अत्याधिक बढेयता अस्पतालमा दिनहुँ औसतमा ५÷६ जना सर्प दशंका बिरामी आइरहेका छन् । सर्प दशंका बिरामीको संख्या अप्रत्याशितमा रुपमा बढेको छ।’नारायणी अस्पतालमा पर्सा, बाराका साथै रौतहट र सर्लाही जिल्लाबाट समेत सर्प दशंका बिरामी उपचारका लागि आउने गरेको उनले बताए ।
नारायणी अस्पताालमा केहिदिन पहिलेसम्म सर्प दशंका बिरामीलाई लगाउनु पर्ने एन्टी स्नेक भेनम (सुई) को अभाव रहेकोभएपनि अहिलेपनि अभाव नरहेको उनले बताए । तर विषालु सर्पले डसेर जटील अवस्थामा पुगेका बिरामीलाई थप उपचारका लागि भर्ना गरेर राख्नुपर्ने अवस्थामा भने आइसियु बेडको अभावले समस्या भइरहेको डाक्टर सिंहले बताए ।
उनका अनुसार, हिउँद याममा भन्दा गर्मी मौसममा सर्पको सकृयता बढ्ने गरेकाले सर्प दशंका घटना अत्याधिक हुने गरेको छ ।गर्मीमा पानी नरपरेर जमिनमुनिको तापक्रमपनि बढ्ने र त्यसले दूलो भित्र बस्ने गरेका सर्पहरु उकुसमुकुस भएर बाहिर निस्किने गरेको उनले बताए ।
सर्प दंशबाट जोगिन घरभित्र र वरिपरिका प्वालहरु टाल्नु पर्ने , रातिको समयमा अन्ध्यारोमा हिडडु्ल नगर्ने , हिड्नै परे चप्पल वा जुत्ता लगाएर तथा टर्च लाइट बालेर हिड्नु पर्ने , राति सुत्दा झुल टाँगेरमात्रै सत्ुनु पर्ने र भुंइमा नसुत्ने लगायतका सावधानीहरु अपाउन उनले सुझाव दिए ।
यदि सर्पले डसि हाले गाँउघरमा घरेलु वा झारफुकको उपचारमा नलागी यथाशक्य छिट्टो नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा बिरामीलाई पुर्याइ हाल्नुपर्ने सुझावपनि उनले दिए ।

