वीरगन्ज,३१जेष्ठ:वेस्ट इन्डिज टी-२० विश्वकप क्रिकेटको सुपर ८ चरणमा पवेश गरेको छ।बिहीबार बिहान भएकाे खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको हाे ।वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले हराएको हाे ।
वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए । मिचेल स्यान्टेनरले १२ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए । ओपनर फिन एलेनले २३ बलमा २६ तथा ड्यारियल मिचेलले १२ रन बनाए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले चार तथा गुणकेश मोटीले तीन विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि शेरफन रादरफोर्डले ३९ बलमा २ चौका र ६ छक्काको सहयोगमा अविजित ६८ रनको अर्धशतकीय इनिङ खेले । निकोलस पुरनले १२ बलमा १७ तथा अकिल होसेनले १५ रन बनाए ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले तीन तथा लकि फर्गुसन र टिम साउदीले समान दुई दुई विकेट लिए । जेम्स निशम र मिचेल स्यान्टेनरले समान एक एक विकेट लिए ।
तीन खेलमा अपराजित वेस्ट इन्डिज समूह सी बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली हो ।

