Madhes Khabar
मधेस प्रदेश

लालबन्दीबाट १६ क्वीन्टल १२ किलाे गाँजा बरामद

वीरगन्ज,२४जेष्ठ:सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले लालबन्दी नगरपालिका–१४ डाइनी खोलास्थित लंगुरडाँडा भन्ने विकट गाउँमा लुकाइछिपाई राखेको अवस्थामा १६ क्विन्टल १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो।

काठले बनेको दुई तलाको घरमा गाँजा भण्डारण गरेर राखेको सूचनाको आधारमा प्रहरीले बुधबारराति झन्डै ६ घण्टा लगाएर छापा मारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए। बरामद गाँजाको अवैध बजार मूल्य साढे दुई करोड रुपैयाँभन्दा धेरै रहेको प्रहरीले जनाएको छ।

लंगुरडाँडामा गाँजा उत्पादन गर्ने कारखाना रहेको सूचनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वको अप्रेसन टोली परिचालन गरेको थियो। प्रहरीको अप्रेसनपछि स्थानीय गाउँ खाली गरेर फरार भएका थिए।

राति ८ बजेदेखि बिहान ३ बजेसम्म प्रहरीले उक्त घर र आसपास गाउँमा छापामारी अभियान चलाएको थियो। घटनास्थलमा प्रहरी उपरीक्षकको कमान्डमा ८० जना र सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा ४५ जना परिचालन भएका थिए।

घर तथा शौचालयमा समेत टिन र प्लास्टिकको ड्रममा प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट गाँजा प्याक गरेको १५ थान टिनको ड्रम, एक थान पाँच सय लिटर क्षमताको प्लास्टिकको ड्रम, गाँजासहितको बोरा, गाँजा च्याप्ने मेसिन एक थान, दुई थान गाँजा च्याप्न प्रयोग भएको जगसमेत बरामद गरेको छ।

उक्त स्थानमा उत्पादन भएका गाँजा नेपाली तथा भारतीय बजारहरूसम्म तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।साभार:नयाँपत्रिका

Related posts

मानव बेचबिखनको पनि ट्रान्जिट प्वाइन्ट बन्दै वीरगन्ज नाका

MadhesKhabar

मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

MadhesKhabar

मधेसमा मन्त्रीपरिषद विस्तार, पर्साका कलवार बने उर्जा मन्त्री

MadhesKhabar

Leave a Comment