वीरगन्ज,१३जेष्ठ:१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधी काेलकाता नाइट राइडर्सले जितेकाे छ।
आइतबार राति भएकाे फाइनल खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले सहजै पराजित गर्दै कोलकाताले तेस्राे पटक आईपीएलकाे ट्रफी उचालेकाे हाे।चेन्नईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएकाे फाइनल खेलमा हैदराबादले दिएकाे ११४ रनकाे झिनाे लक्ष्य काेलकाताले १०. ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताका लागि वेंकटेस अय्यरले २६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले । ओपनर रहमाउल्लाह गुर्वाजले ३२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । अर्का ओपनर सुनिल नारायणले २ बलमा १ छक्काको सहयोगमा ६ रन बनाए ।
बलिङतर्फ हैदराबादका लागि कप्तान प्याट कमिंस र शाहबाज अहमदले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय १३ रन मात्र बनाएकाे थियो ।
हैदराबादका लागि कप्तान प्याट कमिसंले १९ बलमा सर्वाधिक २४ तथा एडेन मारक्रमले २३ बलमा २० रन बनाए । हेनरिक क्लासेनले १७ बलमा १६ तथा नितिश रेड्डिले १० बलमा १३ रन बनाए । हैदराबादका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आइपीएल इतिहासको फाइनलमा बनेको यो नै कम योगफल थियाे ।
बलिङतर्फ कोलकाताका लागि आन्द्रे रसेलले तीन तथा मिचेल स्टार्क र हर्षित रानाले समान दुई दुई विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।
यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा आइपीएलकाे उपाधि जितेकाे थियाे भने हैदराबाद सन् २०१६ मा च्याम्पियन भएको थियो ।

