Madhes Khabar
स्वास्थ्य

कान्ति बाल अस्पतालको बेथिती सुधार गर्न स्वास्थ्थ्य मन्त्री यादवको निर्देशन

काठमाडौं,१३जेष्ठः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौंस्थित कान्ति बाल अस्पतालमापनि छड्के अनुगमन गरेका छन् ।

मन्त्रालयका सचिवसहितको टोली लिएर कान्ति बाल अस्पतालमा पुगेका मन्त्री यादवले अस्पतालको आकस्मिक, फार्मेसी, बहिरङ्ग सेवा कक्ष (ओपिडी), शल्यक्रिया कक्ष, आइसियु, एनआइसीयु, क्यान्टिनलगायतका कक्ष र शाखाहरूको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री यादवले उपचारका लागि आफ्नो बालबालिका लिएर आएका अभिभावक लगायतका सेवाग्राहीसँग पनि कुराकानी गरे । सेवाग्राहीहरूले अस्पतालको फोहर व्यवस्थापनमा समस्या रहेको, शौचालय धेरै दुर्गन्धित रहेको, आकस्मिक कक्षको एउटै शय्यामा तिन जनासम्मको उपचार भइरहेको, औषधी लिन फार्मेसीमा लामो समय कुर्नुपरेको, रगत सङ्कलन लगायतमा ढिलाइ हुने गरेको, ह्विलचियरको व्यवस्था नरहेको र कर्मचारीहरूले राम्रो व्यवहार नगर्ने गरेको गुनासो मन्त्री यादव समक्ष सुनाएका थिए ।

त्यस्तै अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तथ्याङ्क पुस्तिका च्यातिएको अवस्थामा फेला पारे भने फार्मेसीमा औषधी दिँदा खुल्ला रूपमा दिइरहेको भेटिएको थियो । मन्त्री यादवले फार्मेसीबाट स्वास्थ्य बिमा मार्फत उपलब्ध हुने औषधीको विषयमा जानकारी लिनुका साथै अस्पतालस्थित क्यान्टिनको अनुगमन गर्दै खानाको गुणस्तर बारे पनि जानकारी लिए ।

अस्पतालका प्रमुख डा. पंकज रायले जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको दुखेसो मन्त्री यादवका सामु पोखे ।

अनुगमन पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले अस्पतालमा निकै कमजोरी भेटिएको र तत्काल सुधारको काम अगाडि बढाउने आफूले अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । उनले भने , ‘अस्पतालमा हामीले ठूलो समस्याहरू भेटाएका छौँ । यद्यपि ती समस्याहरू यहीँबाट समाधान हुने किसिमका छन् । सानोतिनो विषयमा पनि सेवाग्राहीहरू असन्तुष्ट हुनुहुन्छ । शौचालय फोहर छ, फार्मेसीबाट खुल्ला रूपमा औषधी वितरण हुँदै छ । जसको व्यवस्थापन अस्पतालले गर्न सक्छ तर गरेको देखिएन ।’

अस्पतालमा नयाँ एमआरआई मेसिन हुँदाहुँदै सञ्चालनमा नरहेको भेटिएपछि उनले एमआरआई मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन पनि दिए ।अनुगमनको एउटा विस्तृत प्रतिवेदन तयार पारेर अस्पतालमा देखिएका कमजोरीहरूलाई सुधार गर्ने र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

Related posts

छात्राहरुसंग यौनजन्य दुर्व्यवहार गरेको आरोपमा नारायणी अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ

MadhesKhabar

निजि अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम बन्द

MadhesKhabar

नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment