
वीरगन्ज,३१बैशाखः जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले शपथ लिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त प्रदीप यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार साँझ राष्ट्रपति राम चन्द्र पौडेलले शपथ खुवाएका हुन् । स्वास्थ्यमन्त्रीमा नियुक्त यादव, पर्सा क्षेत्र नम्बर १ का सांसद तथा जसपाका उपमहासचिव हुन् । यादव, यसअघि पूर्व वनमन्त्री भइसकेका थिए ।
यस्तै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका छन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव ,प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायतकोपनि उपस्थिती थियो ।
सोमबार दिउँसो ,जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई पठाएको थियो । तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने र तत्कालका लागि उनलाई विना विभागीयमन्त्रीको जिम्मा दिने तयारी छ ।जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् ।
जसपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिदै सरकारबाट बाहिएका थिए ।
१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला वैशाख २३ गते विभाजित भएको थियो । ७ सांसदसहित अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसदमा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् ।

