Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा लाेकसभा चुनाव : पहिलाे चरणमा सबैभन्दा कम मतदान बिहारमा

काठमाडौं,७बैशाख:भारतमा १८औं लोकसभाका लागि आज शुक्रबार भएको निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्ममा झन्डै ६० प्रतिशत मतदान भएको हो । लोकसभाको ५४३ सिटका लागि सात चरणमा चुनाव तय भएकामा आज पहिलो चरणमा १०२ सिटका लागि मतदान सम्पन्न भएको हो ।

सबैभन्दा बढी पश्चिम बंगालमा ७८ प्रतिशत तथा त्रिपुरामा ७६ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम बिहारमा ४६ प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मतदान आगामी १ जुनसम्म चल्नेछ भने ४ जुनमा मतगणना गरिनेछ । अन्यत्र शान्तिपूर्ण भए पनि मतदानका क्रममा मणिपुर, पश्चिम बंगाल र छत्तिसगढमा भने हिंसाका केही घटना भएका छन् । राजस्थानमा पनि फर्जी मतदानलाई लिएर झडप भएको थियो ।

आज पहिलो चरणमा २१ राज्यको १०२ सिटका लागि मतदान भएको हो । उत्तर प्रदेशको आठ, बिहारको चार, मध्य प्रदेशको ६, राजस्थानको १२, उत्तराखण्डको पाँच, पश्चिम बंगालको तीन, असमको चार, मेघालयको दुई, अरुणाचलको दुई, मणिपुरको दुई, महाराष्ट्रको पाँच, र तमिलनाडुको ३९ सिटमा मतदान सम्पन्न भएको छ । यस्तै छत्तीसगढ, मिजोरम, नागाल्यान्ड, सिक्किम, त्रिपुरा, जम्मु कश्मीर, अन्डमान निकोबार टापु, लक्षद्वीप, र पुडुचेरीका एक-एक सिटमा मतदान भएको छ ।

आज मतदान भएका १०२ सिटका लागि एक हजार ६ सय २५ उम्मेदवार प्रतिस्पर्धामा छन् । लोकसभा निर्वाचनसँगै चार राज्य आन्ध्रप्रदेश, ओडिसा, सिक्किम र अरुणाचल प्रदेशमा विधानसभा निर्वाचनका लागि समेत मतदान भएको छ ।

पहिलो चरणमा १६ करोड ६३ लाखभन्दा बढी मतदाता थिए । अर्को चरणको मतदान भने २६ अप्रिलमा हुनेछ ।

Related posts

नेपालीभाषीलाई ’विदेशी’ भनेपछि आज सिक्किम बन्द

MadhesKhabar

भारत–पाकिस्तानबीच आज वार्ता हुँदै

MadhesKhabar

भारतकाे महाराष्ट्रमा बसमा आगाे लाग्दा २५ यात्रुकाे मृत्यु

MadhesKhabar

Leave a Comment