Madhes Khabar
समाज हेडलाइन

बदलिदैं मधेस : छोरी जन्मिएको खुशीमा मुन्नाले गाँउभर बाँडे मिठाई

वीरगन्ज,०७बैशाखःमधेसमा छोरा जन्मेपछि घरपरिवारमा खुशीयाली छाउँछ । अस्पतालमै मिठा बाँडेर खुशीयाली मनाइन्छ । छैंठीका दिन भब्य भोजभतेर गरेर छोरा जन्मेको खुशीयाली मनाईन्छ ।

तर यदि कसैको घरमा छोरी जन्मिइ भने त्यस घरपरिवारका सदस्यहरुको अनुहारमा १२ नै बज्छ ।जन्म दिने आमा–बुबाको अनुहार निन्याउरो हुन्छ ।कारण एएटै हो – छोरी जन्मी अब यसको विहेबाहरी कसरी हुन्छ ?दाइजोको जोहो कहाँबाट गर्ने ? जस्ता प्रश्नसहितका चिन्ताले आमा–बुवालाई सताउन थाल्छ ।

तर वीरगन्जमा ठीक यसको विपरित भएको एक सकरात्मक घटना प्रकाशमा आएको छ । वीरगन्ज–२ छपकैयाका शेख मुन्नाको पहिलो सन्तानका रुपमा छोरी जन्मिएपछि घरपरिवारका कोहिपनि सदस्य दुखी छैनन् । छोरी जन्मिएकोमा परिवारका सबै खुशी छन् ।

छोरी जन्मिएको १२ औं दिनको विधी पुरा भएपछि खुशीयालीमा मुन्नाले शुक्रबार गाँउभरी मिठाई बाँडेका छन् । खुशीयालीमै जन्मिएको छोरीका लागि आशीर्वाद लिन मुन्नाले शुक्रबार नै घरमा पवँरीया बोलाएर नाचगानपनि गराए ।यसो त मधेसमा प्राय छोरा जन्मिएपछि मात्र घरमा पवँरीया बोलाएर नाचगान गराउने प्रचलन छ । तर मुन्नाले छोरी जन्मिएको खुशीमा शुक्रबार पवँरीया बोलाएर नाचगान गराएका हुन् ।उनले भने,‘ छोरी जन्मिएको खुशीमा मैले आज गाँउभर झण्डै १ हजार पिस रसबरी बाँडे । पवँरीयालाई घरमा बोलाएर नचाए ।उनिहरुबार्ट छोरीका लागि आशीर्वादपनि लिए।’

मधेसमा त छोरी जन्मेपछि परिवारका सबैले मन दुखी गर्छन् नि ? भन्ने प्रश्न गर्दा मुन्नाले भने,‘ यो मधेसको विडम्बनामा हो । छोरी जन्मेपछि मन दुखी गर्नु बिल्कुल गलत हो । किनकि छोरा वा छोरी जे जन्मिएपनि खुशी मनाउनु पर्छ । किन कि बुवा–आमाका लागि उसका सन्तान छोरा वा छोरी जे भएपनि दुवै बराबर नै हुन् ।विभेद गर्नु हुदैन।’

मुन्नाका अनुसार, गत चैत २० गते वीरगन्जको नारायणी सेन्ट्रल हस्पिटिलमा उनकी पत्नि मुस्कान खातुनले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । मुन्नाले भने,‘ छोरी जन्मिई भनेर खबर पाउनासाथ खुशी भएर मैले हस्पिटलमै नर्सहरुलाई पाँच पाँच सय रुपैयाँ दिए । हस्पिटलमै मिठाई पनि बाँडे ।’

हस्पिटलमा छोरी जन्मेको बेलादेखि नै श्रीमति मुस्कानसहित घरपरिवारका सबै सदस्यमा खुशीयाली छाएको उनले बताए । मुन्नाले भने,‘ मेरी छोरी जन्मिएपछि पाँचदिन सम्म अस्पतालमै राख्नु पर्दा कुरुवा बस्नु परेको थियो ।त्यो पाँच दिन हस्पिटलमा बस्दा मैले के देखे भने जसको छोरी जन्मिन्थ्यो उसका परिवारले मन दुखी गर्थे ।उनिहरुलाई सम्झाउँदै मैले भन्थे–छोरी जन्मियो भनेर मन दुखी नगर्नुस् । किनकि हाम्रै देशमा छोरीपनि राष्ट्रपति भएका छन् । मन्त्री भएका छन् । त्यसैले यदि सही शिक्षादिक्षा र संस्कार दिन सकियो भने छोरीले पनि तपाईको मानसम्मान बढाउन सक्छन् । देशको शीर उँचो पार्न सक्छन् ।’

छोरी जन्मिदा विहेमा दाइजो दिनु पर्छ भनेर मन दुखी पार्ने प्रचलन रहेको मधेसी समाजमा सकरात्मक सन्देश प्रवाह होस् भनेर नै आँफुले छोरी जन्मिएको खुशीमा शुक्रबार गाँउरभर मिठाई बाँड्नुका साथै घरमा पवँरीया बोलाएर नाचगान गराएर खुशीयालीको मुन्नाले बताए । मुन्नाले भने,‘ छोराले गर्न नसक्ने काम छोरीले गरेर बाउआमाको मानसम्मान बढाएका छन् । हेर्नुहोला म आफनी यहि छोरीलाई असल संस्कार र शिक्षादिक्षा दिएर एकदिन हाम्रो मधेसी समाजले नै गर्व गर्न लायकको एक होनाहार छोरी बनाउँछु।’

मुन्नाका छिमेकी पारस बैठाले भने,‘छोरी जन्मिदाँ गाँउमा आजसम्म यसरी मिठाई नै बाँडेर खुशीयाली मनाएको मैले चाहि देखेको थिइन् । छोरी जन्मिदाँपनि यसरी खुशी मनाएको देख्दा अनौंठो नै लागेको छ । तर यो हाम्रो मधेसी समाजका लागि सकरात्मक कूरा हो । अब कसैको घरमा पनि छोरी जन्मियो भने मन दुखी गर्ने होइन ।छोरा जन्मिएको जस्तै छोरी जन्मिदाँपनि मन खुशी बनाउनु पर्छ ।’

उपप्राध्यापक तथा समाजसेदी डाक्टर सुष्मा तिवारी द्विवेदीले पनि मधेसी समाजमा छोरीप्रति विद्यमान विभेद हटाउन मुन्नाले छोरी जन्मदा खुशीयाली मनाएको घटनाले सकरात्मक सन्देश प्रवाह गरेको बताउँछिन् । उनि भन्छिन्,‘ मुन्ना र उनका परिवारले हाम्रो मधेसी समाजलाई एउटा ठूलो सकरात्मक सन्देश दिएका छन् ।यसले अब अरुको घरमापनि छोरी जन्मिदाँ मन दुखी गर्नुका सट्टा मुन्नाको जस्तै खुशी मनाउनु पर्छ भन्ने सन्देश समाजमा प्रवाह भएको छ । जुन मधेसी समाजका लागि सुखदपनि हो ।’

पछिल्लो समय दाइजोका विरुद्ध मधेसका छोरीहरु स्वंय नै विद्रोहमा उत्रिरहेको घटनाहरु प्रकाशमा आइरहेको भन्दै द्विवेदीले भनिन्,‘यसका साथै बुढ्यौलीमा बुवा–आमालाई छोराले हेला गरेको अवस्थामा छोरीले आफनो साथमा राखेर मायाममता दिएका प्रशस्त उदाहरणहरु देखिएका छन् । यीसबका कारण अब मधेसी समाजमा छोरीको महत्व विस्तारै बढ्दै गएको छ ।’

गत १८ चैतमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रममा मधेस प्रदेशमा छोराको तुलनामा छोरीको जन्म न्यून देखिएको र यसले भविष्यमा मधेस प्रदेशको जनसंख्याको लैंगिक संरचनामा नै असन्तुलित हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए ।

अपिल मिडिया र द एसिया फाउण्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने प्रस्तूत गरेकोे कार्यपत्रमा,मधेसमा लैंगिक अनुपात ११८ रहेको छ। उक्त कार्यपत्रमा उल्लेख तथ्यांक अनुसार, मधेसमा एक सय जना छोरीको जन्म हुँदा एक सय १८ जना छोराको जन्म हुने गरेको उल्लेख थियो । जबकी नेपालको औसत लैंगिक अनुपात भने एक सय १२ रहेको छ। यो भनेको एक सय जना छोरीको जन्म हुँदा एक सय पाँच जना छोराको जन्म हुनु बराबर हो।

उक्त कार्यक्रममा निर्देशक लामिछानेले गर्भमै लिंग पहिचान गरी गर्भपतन गराउने चलनले मधेसमा छोराको तुलनामा छोरीको जन्म न्युन हुने गरेको बताएका थिए । उनले भनेका थिए,‘यो गम्भीर विषय हो। यस विषयमा प्रदेश सभा र स्थानीय सरकारले विशेष निगरानी गर्नुपर्छ।’

 

Related posts

वीरगन्जमा पनि इर्द पर्बको उल्लास

MadhesKhabar

वीरगन्जमा पनि नेवार समुदायले मनाए नेपाल संवत् ११४३

MadhesKhabar

बारामा चार वर्षिया नाबालिकालाइ बलात्कार गर्ने पाख्रीन पक्राउ

MadhesKhabar

Leave a Comment