काठमाडौं,३बैशाखः नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। ओमानमा भइरहेको एसीसी प्रिमियर कपमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको हो।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए भने कुशल भुर्तेल ३२ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै कप्तान रोहित पौडेलले अविजित २५ रन र सन्दीप जोराले अविजित १९ रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा अलआउट हुदैं ११४ रन बनाएको थियो। हङकङका लागि अंशुमान रथले सर्वाधिक ३४ रन, जिशान अलीले १४ रन, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।
नेपालका लागि अविनाश बोहोरा ३ विकेट, दिपेन्द्रसिंह ऐरी र ललित राजवंशीले २÷२ विकेट र करण केसीले १ विकेट लिए। यसैगरी गुलशन झा र दिपेन्द्रसिंह ऐरीले १÷१ जनालाई रन आउट गराएका थिए। वर्षाका कारण आजको खेल १८ ओभरमा झारिएको थियो।
सेमिफाइनलमा प्रवेश गरेको नेपालको यो लगातार तेस्रो जित हो। नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा कतारलाई हराएको थियो।

