वीरगन्ज,१बैशाख : तुम्हारे शहरका मौसम बडा सुहाना लगे ,मै एक साम चुरालु अगर तुम्हे बूरा ना लागे’ ।(तिम्रो शहर त निक्कै मनमोहक पो भएछ, म त्यहाँको एक रात चोर्न चाहन्छु यदि तिमीलाई नराम्रो लाग्दैन भने ।) – यो शायरी गत माघ तेश्रो साता वीरगन्ज आएर फर्किएका विराटनगरका इन्जिनियर सरोजानन्द मिश्राले वीरगन्जका राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई मोबाइलमा शायरी लेखेर पठाएका थिए ।गत शनिबार वीरगन्जमै आयोजित एक कार्यक्रममा चन्द्रकिशोरले विराटनगरका मिश्रले पठाएको उक्त शायरी कार्यक्रममा सहभागीहरुलाई सुनाए ।
हुन त मुलुकको प्रमुख आर्थिक नगरी वीरगन्जलाई दुई चार बर्षअघि सम्म फोहोर र मच्छड(लामुखुट्टे) को शहरपनि भनिन्थ्यो ।त्यसबेला बदनाम वीरगन्जले मच्छडगन्जको उपमापनि पाएको थियो ।तर आज अवस्था बिल्कुल फरक छ । वीरगन्जले मुहार फेर्न थालेको छ ।विराटनगरका इन्जिनियर झा जस्तै बाहिरबाट वीरगन्ज आउनेहरुले भन्छन् ,‘ आहा वीरगन्ज त कति सफा पो भएछ ।’
दुई तीन वर्षअघि सम्म वीरगन्जको मेनरोडमै फोहोर र नालाको दुर्गन्धका कारण नाकै थुनेर हिड्नु पर्ने बाध्यात्मक अवस्था थियो बटुवाहरुलाई । तर अहिले त्यो बाध्यता छैन । वीरगन्जका मुख्य शहरी क्षेत्रका सडक स्वच्छ र सफा देखिन्छन् । महानगरले विरासतमा पाएका धार्मिक र पर्यटकीय सम्पदाहरु सौन्दर्यकरण गरेर आकर्षक पारिएको छ ।बाहिरबाट आउनेहरुका लागि ती सम्पदाहरु अहिले फोटो खिच्ने र खिचाउने सेल्फी स्पोट बनेका छन् ।
वीरगन्ज महानगरको नेतृत्व मेयर राजेशमान सिंहले सम्हालेको झण्डै २२ महिना पुगेको छ ।त्यस यता महानगरको नेतृत्वले वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउने नारा लिएर शहरको सरसफाई र सौन्दर्यकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।त्यसैको नीतजा हो अहिलेको स्वच्छ र सफा वीरगन्ज ।
कुनै बेला अत्यन्त साँघुरो सडक, अव्यवस्थित घनाबस्ती र फोहोरका कारण अस्तव्यस्त देखिने वीरगन्ज शहर अहिले सफा र व्यवस्थित शहरको रूपमा परिवर्तन हुँदै गएको छ ।यसका लागि महानरको नेतृत्वले कतिपय सन्दर्भमा निर्मम निर्णयहरुपनि लिएको छ ।
सडक, नाला वा खाली जग्गामा जथाभावी फोहोर फाल्नेविरुद्ध १५ महिनादेखि वीरगन्ज महानगरपालिकाले आर्थिक जरीवाना तराउने अभियान चलाएको छ ।यो १५ महिनाको अवधिमा जथाभावी फोहोर फाल्ने झण्डै १ हजार जना आर्थिक कारबाहीमा परिसकेका छन् । महानगरपालिकाको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँका अनुसार, १५ महिनाको अवधीमा (२०७९ पुस १७ देखि २०८० चैत ३० सम्म) जथाभावी फोहोर फाल्ने ९ सय ९२ जनालाई कारबाही गरि जरिवाना तिराइएको छ ।२ सय ६५ वटा संस्था र ७ सय २७ जना व्याक्तिलाई जरिवाना गरि त्यसबापत २७ लाख ८१ हजार १०५ रुपैयाँ राजश्व संकलनपनि गरिएको मियाँले बताए ।
मियाँले भने,‘ जथाभावी फोहोर फाल्ने प्रवृति रोक्न सुरुका चरणमा हामीले टोल टोलमा पुगेर सचेतनामुलक कार्यक्रम गयौं । तर त्यसले काम नगरेपछि २०७९ पुस १७ गतेदेखि आर्थिक जरिवाना नै तिराउन थाल्यौ । जसका कारण अहिले जथाभावी फोहोर फाल्ने प्रवृतिमा निक्कै कमी आएको छ । अनि शहरपनि पहिलेको भन्दा अहिले निक्कै सफा र स्वच्छपनि देखिन थालेको छ ।
महानगरले हरेक वडामा बिहान र साँझ गरी दुई चरणमा गरेर घर, पसल वा संस्थाका फोहोर संकलनका लागि ट्याक्टर र दुई पाङग्रे ठेला पठाउने गरेको जानकारीपनि उनले गराए । यसका साथै सडकका कसिङ्गर लगायतका सुख्खा फोहोर सफाई गर्नका लागि बिहान र बेलुकी गरी दुई समयमा सडकमा झाडुपनि लगाउने गरिएको उनले बताए । महानगरका नाला र ढल सफाईपनि नियमित रुपमा भइरहेको जानकारीपनि उनले दिए ।वीरगन्जमा वर्षाका बेला ढलको पानीले हुने डुबानको समस्या निराकरणका लागि यसबर्ष बर्षा सुरु हुनु अगावै करिब ९ किलोमिटर ढल पूर्ण रुपमा सफा गरिएको भन्दै मियाँले ढल र ठूला नालामाथि बनाइएका सरंचनाहरु भत्काइएको बताए ।
वीरगन्जलाई धार्मिक पर्यटनको हब बनाउने मेयर सिंहको नारालाई सार्थकता दिन महानगर क्षेत्रमा वर्षौदेखि ओझेलमा रहेका ऐतिहासिक मठमन्दिरहरुको महानगरपालिकाले सौन्दर्यकरण गरेको छ। वीरगन्जकै प्रमुख शक्तिपीठ गहवामाई मन्दिर र मन्दिर प्रांगणको स्तरोन्नत्ती र सौन्दर्यकरण गरि आर्कषक बनाइएको छ । यस्तै मन्दिर प्रांगणमा रहेका पूराना संरचना हटाएर पार्क जस्तै फराकिलो र खुल्ला बनाइएको छ ।यस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर जस्तै रहेको वीरगन्ज चिनी मिल परिसरको झण्डै चार दशक पूरानो पशुपतिनाथ मन्दिरकोपनि सौन्दर्यकरण गरि नियमित पूजापाठ सुरु गरिएको छ ।
वीरगन्ज १० घडिअर्वामा तीन दशक बढी समयदेखि एक व्याक्तिको निजी कब्जामा रहेको श्रीरामजानकी मन्दिर महानगरले आफनो स्वामित्वमा ल्याएर स्तरोन्नत्री र सौन्दर्यकरण गरेको छ । उक्त मन्दिरमा भारत अयोध्याको नवमिर्तित राम मन्दिरको समुद्घाटन गरिएकै दिन गत माघ ८ गते भगवान् श्रीराम, माता सीता र भगवान् हनुमानको मूर्तीको प्राणप्रतिष्ठा गरिएको छ ।त्यहाँ हरेक साँझ हुने आरती र पूजापाठमा सयौंको सहभागीता हुदैं आएको छ ।
वीरगन्ज १४ पिपरामा रहेको झण्डै १३५ वर्ष पुरानो नरसिंह भगवान्को मन्दिरको पुर्ननिर्माण र सौन्दयकरणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेर कामपनि सुरु गरिसकिएको मेयर सिंहले जानकारी दिए ।यस्तै वीरगन्ज १९ विन्दबासीनीमा रहेको बिन्दवासिनी माईको मन्दिर पुर्ननिर्माण र स्तरोन्नत्तीका लागि डिपिआर (विस्तृत परियोजना प्रस्ताव) तयार भइसकेको भन्दै सिंहले छिट्टै काम सुरु गरिने बताए ।
भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगन्जको इनर्वामा रहेको ऐतिहासिक शंकरचार्य प्रवेशद्वारकोपनि सौन्दर्यकरण गरिएको छ ।यस्तै वीरगन्जको पहिचानको रुपमा स्थापित घण्टाघरको रंगरोगन र विद्युतीय बत्तीले सजाइएको भने घण्टघार परिसरभित्रै वाटर फाउण्टेन जडान गरि अझ आकर्षक बनाइएको छ । यस्तै वीरगन्ज १४ गण्डकमा रहेको शहिद तेज बहादुर अमात्यको शालीक परिसरकोपनि रंगरोगन गरी त्यहाँपनि वाटर फाउन्टेन जडान गरिएको छ ।शलिक परिसरकै छेउको खाली जग्गामा विद्युतीय सौन्दर्यकरण गरेर सेल्फि स्पोर्ट निर्माण गरिएको छ ।
वीरगन्ज महानगरपालिकाले ‘उज्यालो अभियान’पनि चलाएको छ ।जसका कारण वीरगन्ज शहर रातिको समयमा झिलीमिली देख्न्छि । अभियान अन्तर्गत महानगरका ३२ वटै वडामा गरी हालसम्म १३ हजार ३ सय २२ वटा विद्युतको पोलमा बत्ती जडान गरिएको छ । यस्तै महानगरको शहरी क्षेत्रमा रहेका ४ सय ५० वटा पोलमा स्ट्रिपी लाइटी (रंगीन बत्ती) लगाइएको महानगरका ईन्जिनियर राजीव उपाध्यायले जानकारी दिए । यसका अतिरिक्त महानगरपालिका आँफैले दुई फरक फरक स्थानमा हाई मास्ट लाइटपनि जडान गरेको उपाध्यायले बताए । वीरगन्ज शहरलाई झिलीमिली बनाउनका साथै रातभरी उज्यालो राख्न महानगरले ‘उज्यालो अभियान’ कार्यक्रम चलाएको उनले बताए ।
वीरगन्ज शहरलाई ‘हरित शहर’ बनाउने अभियान अन्तर्गत शहरका विभिन्न स्थानका सडकको डिभाइडर र सडकको दायाँबायाँमा वृक्षारोपणपनि गरिएको छ । महानगरका विभिन्न स्थानका सडकका डिभाइडर र सडकका दायाँबायाँमा गरी हालसम्म मा गरी १३ हजार ५०० वटा विरुवा रोपिएको महानगरको वन,वातावरण तथा विपद व्यवस्थापन महाशाखाका वन प्राविधिक दशरथ रौनीयारले बताए । उनका अनुसार, घण्टाघरदेखि पावर हाउस चोक,घण्टघारदेखि बसपार्क सम्मको लिंक रोड , रजत जयन्ति चोकदेखि प्रतिमा चोक हुदैं गण्डक चोक, पिपराको लिंक रोड र शंकराचार्य प्रवेशद्वारदेखि भन्सार क्षेत्रसम्म विभिन्न प्रजातिका बोटविरुवा र फूल रोपिएको हो ।
यस्तै वीरगन्जका अर्को एक पर्यटकीय गन्तब्य स्थलका रुपमा वीरगन्ज महानगरपालिकाले वीरगन्ज १९ मा ५० करोड रुपैयाँको लागतमा कृत्रिम ताल बनाउने प्रकृया थालिसकेको छ । तिलावे जल पर्यटक क्षेत्र परियोजना अन्तर्गत वीरगन्ज १९ स्थित तिलावे नदि छेउको २५ बिघा क्षेत्रफलमा कृत्रिम ताल बनाउने प्रकृया थालिसकिएको ईन्जिनियर प्रकाशमान अमात्यले जानकारी दिए । उकन अनुसार, त्यसका लागि डिपीआर तयार भइसकेको र तीन् बर्षभित्रमा ताल निर्माण हुने लक्ष्य लिएर काम अगाडि बढाइएको छ ।
महानगरमा जनप्रतिनिधीको नयाँ नेतृत्व आएको करिब दुई बर्ष यता शहरको सरफाई,सौन्दर्यकरण , धार्मिक मठमन्दिरको स्तरोन्नत्ती लगायतका क्षेत्रमा भएका कामले दुई बर्षपहिलेको वीरगन्ज र अहिलेको वीरगन्जमा धेरै सकरात्मक परिवर्तन आएको स्थानीयबासी बताउछन् ।
वीरगन्ज १४ निवासी समेत रहेका राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्,‘ जब देखि वीरगन्ज महानगरमा नयाँ नेतृत्व आयो त्यस यता केहि कामहरु निक्कै राम्रा भएका छन् । जस्तो कि सरसफाईको अवस्थामा निक्कै सुधार आएको छ । यस्तै वीरगन्जले विरासतमा पाएका घण्टाघर, शंकराचार्य गेट , गहवामाई मन्दिर,पशुपतिनाथ मन्दिर लगायतका ऐतिहासिक सम्पदाहरुको सौन्दर्यकरण गरिएको छ । अहिले कोहीपनि वीरगन्ज आउँछ भने उसले ती सम्पदामा पुगेर सेल्फी र फोटो खिच्छ।’
वीरगन्जका मेयरले वीरगन्जलाई धार्मिक पर्यटनको हब बनाउने घोषणा गरेर काम गरिरहेका छन् ।‘बैभव वीरगन्ज’को नारा दिएका छन् । यी नारा जनजिब्रोमा बसिसकेको भन्दै चन्द्रकिशोर भन्छन्,‘नेतृत्वमा बसेको एक जना व्याक्ति मात्रले यदि गर्न चाह्यो भने धेरै कूरामा सकरात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उक्तिलाई अहिलेका मेयर राजेशमानको कामले पुष्टि गरिदिएको छ ।’
यता वीरगन्जका मेयर सिंह भने वीरगन्जलाई बैभवशाली वीरगन्ज बनाउने आफनो सोच रहेकोले त्यहि सोच अनुसार काम गरिरहेको बताउछन् । उनी भन्छन्,‘ मैले पटक पटक भन्दै आएको छु ‘बैभव वीरगन्ज’ को सपना म पूरा गरेरै छाड्छु ।यसका लागि मेरो वा महानगरको एक्लो प्रयासले मात्र पुग्दैन । वीरगन्जबासीका साथै संघ र प्रदेश सरकारकोपनि सहयोग चाहिन्छ । त्यसका लागि म निरन्तर लागि रहेको छु।’
वीरगन्ज शहरलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा स्थापित गर्ने काममा पनि लागिरहेको भन्दै उनले त्यसका लागि नै यहाँ रहेका ओझोलमा परेका र संरक्षण हुन नसकेका धार्मिक मठमन्दिर र सम्पदाहरुको सौन्दर्यकरण तथा स्तरोन्नत्ती गर्ने काम गरिरहेको सिंह बताउछन् ।
उनि भन्छन्,‘ वीरगन्ज नाका भएरै नेपालमा भारतीय पर्यटक भित्रिन्छन् । तर उनिहरु सिधै गन्तब्यका अन्य शहरमा जान्छन् । वीरगन्ज बस्नै रुचाउँदैनन् । वीरगन्जलाई बाटोको रुपमा मात्र प्रयोग गर्छन् ।निकी वीरगन्जमा पर्यटकका लागि घुम्ने र रमाइलो गर्ने त्यस्तो कुनै पर्यटकीय पूर्वाधार नै छैन । तर अब मेरो सोच भनेको नेपाल घुम्न आउने पर्यटकलाई वीरगन्जमा कम्तिमापनि दुई रात राख्न सकौं ।त्यसैका लागि यहाँ रहेका धार्मिक मठमिन्दर, पर्यटकीय स्थलहरुको पहिचान गरेर तीनको संरक्षण, सौन्दर्यकरणका साथै प्रचारप्रसारको काम महानगरले अहिले गरिरहेको छ।’यसका अतिरिक्त वीरगन्जमा पर्यटकलाई टिकाउन हरेक चाडपर्ब वा उत्सवमा वीरगन्जमा रात्री बजारपनि आयोजना गर्दै आएको मेयर सिंह बताउँछन् ।
उनी भन्छन्,‘ म कार्यकालको पूरा पाँच वर्ष कुरेर बस्दिन । मैले कार्यभार सम्हालेको साढे तीन बर्षमै वीरगन्जलाई देशकै सुन्दर र आकर्षक शहर बनाउने लक्ष्य लिएर काम गरिरहेको छु । अहिले करिब २२ महिना बित्यो । अबको २० महिनापछि हेर्नु होला वीरगन्ज अझै हेर्न लायकको शहर हुनेछ।’
अहिले वीरगन्जको सफाई , सौन्दर्यकरण लगायतका क्षेत्रमा आएको सकारत्मक परिवर्तनमा आफनोमात्र नभई सम्पूर्ण वीरगन्जबासीको भूमीका रहेको उनि बताउँछन् । सिंह भन्छन्,‘ अहिले जे जे परिवर्तन देखिएको छ । त्यसमा मेरो भन्दापनि वीरगन्जबासीको अहम भूमीका छ । मेरो एक्लो प्रयासले मात्र यो सब भएको होइन।’
मेयर सिंह आँफुले चाहेको र सोचेको जस्तो वीरगन्ज अझै हुन नसकेको गुनासोपनि सुनाउँछन् । उनि भन्छन्,‘ महानगरका ग्रामीण भेगका वडा अझपनि गाँउ जस्तै छन् । त्यहाँ महानगरका लागि हुनु पर्ने भौतिक पूर्वाधारहरु बनेको छैन । सडकको उस्तै दूरावस्था छ । तर अब मैले त्यस क्षेत्रमा पनि काम गर्न सुरु गरिसकेको छु ।’
यद्यपि बजेटको अभावमा चोहेको र सोचेको जस्तो काम अझैपनि गर्न समस्या भइरहेको सिंहको गुनासो छ ।संघ सरकारले बजेट विनियोजनमा वीरगन्ज महानगरलाई विभेद गर्दै आएको सिंह बताउँछन् । उनि भन्छन्,‘ देशका ६ वटा महानगरमध्ये सबैभन्दा कम बजेट संघ सरकारबाट वीरगन्जले पाउँछ । काठमाडौं महानगरलाई संघ सरकारले साढे १४ सय करोडको बजेट दिन्छ तर वीरगन्जलाई भने ११५ करोड मात्रै बजेट दिन्छ । वीरगन्जलाई यति सारो विभेद किन ? बजेट अभावकै कारणले हामीले बनाएका कैयन योजना अलपत्र परेका छन् ।अन्य महत्वकांक्षी योजना त सुरु गर्नै पाएका छैनौं ।
तर उनि थप्छन्,‘ यत्ति हुदाँहुदैंपनि मैले हिम्मत चाहि हारेको छैन । वीरगन्जबासी, यहाँका उद्योगी–व्यपारी सबैको हातेमालो भयो भने वीरगन्ज ‘बैभव वीरगन्ज’ बन्छ नै । म बनाएरै छाड्छु ।’

