बारा,२५चैत:डिफेन्डिङ च्याम्पियन चर्च व्वाईज युनाईटेड क्लबलाई स्तब्ध पार्दै सलहेश युवा क्लब सिरहा बाराकाे सिमरामा जारी जीतपुरसिमरा गोल्डकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिरहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता गर्याे । खेलको १४ औं मिनटमा सिरहाका लागि आशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफ आफ्नो पक्षमा पारेको सिरहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल गर्यो । चर्च व्वाईजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएपनि केहिबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः २–१ गोल अन्तरले पछाडी पर्यो । चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो ।खेलको ६३ औं मिनटमा आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः पछि परेको थियो ।
अनुभवी खेलाडीले भरिएको चर्च व्वाईजले पनि आत्मघाती गोलको फाईदा लिंदै बराबरी गर्यो । खेलको ७३ औं मिनटमा सिरहाका कप्तान कुलदिप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च व्वाईज खेलमा फर्किएको थियो । खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च व्वाईजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो ।
अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिरहाले चर्च व्वाईजलाई स्तब्ध बनायो।सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए । केहि सेकेण्ड बाँकी छँदा गोल भएपछि सिरहाका प्रशिक्षक राजिवकुमार यादब उत्साहित हुँदै मैदान भित्रै प्रवेश गरेका थिए ।
खेलको म्यान अफ दि म्याच सिरहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर ११ हेटौंडा बिच खेल हुनेछ ।

