वीरगन्ज,२२चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्समाथि फराकिलो जित निकाल्दै कोलकाता नाईटराईडर्स अंकतालिकाकाे शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीको घरेलु मैदान विशाखापटनममा बुधबार राति भएको खेलमा कोलकाता १ सय ६ रनको फराकिलो अन्तरले विजयी भयो ।
कोलकाताले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ दशमलब २ ओभरमा अल आउट हुँदै १ सय ६६ रन मात्र बनाउँन सक्यो ।
दिल्लीका लागि कप्तान रिषभ पन्तले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५५ रन बनाए । ट्रिस्टन स्टब्सले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाए । ओपनर डेबिड वार्नरले १३ बलमा १८ तथा अर्का ओपनर पृथ्वी शाले ७ बलमा १० रन बनाए । अन्य खेलाडीले दोहारो अंकमा रन बनाउँन सकेनन् ।
कोलकाताका लागि बरुण चक्रवर्ती र बैभव अरोराले समान ३/३ तथा मिचेल स्टार्कले २ विकेट लिए । आन्द्रे रसेल र सुनिल नारनले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो ।
कोलकाताका लागि सुनिल नारनले ३९ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ८७ रन बनाए ।अंगकृष्ण रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।
आन्द्रे रसेलले १९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । ओपनर फिलिप साल्टले १२ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाए । रिंकु सिंहले ८ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए । कप्तान श्रेयस अय्यरले ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाए ।
दिल्लीका लागि एनरिक नोर्कियाले ३ तथा इशान्त शर्माले २ विकेट लिए । खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए ।
तेस्रो खेलमा अपराजित यात्रा कायमै राखेको कोलकाता ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चाैथाे खेलमा तेस्रो हार व्यहोरेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

