
वीरगन्ज,१२चैत:रंगहरूको पर्व फागु (होली) तराई-मधेसका जिल्लाहरूमा आज सोमबार हर्षोलासपूर्वक मनाइँदै छ ।
पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई-मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो ।
पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराई-मधेसका जिल्लामा आज विशेष रुपमा फागु पर्व मनाईँदैछ।
होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई-मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।
पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा सत्ययुगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान् विष्णुका भक्त थिए ।
आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुको भक्त बनेको हिरण्यकश्यपुलाई मनपरेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । योजनाअनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएका थिए ।
दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिकादहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर दलेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता छ ।
अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंसकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधि चीरदाह गरी होली खेल्ने परम्परा चलेको बताइन्छ ।
होली हिन्दुहरूको अत्यन्त प्राचीन् पर्व हो । इतिहासकारहरूका अनुसार यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्ता प्राचीन् हस्तलिपिहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ ।

