Madhes Khabar
राजनीति

गृहमन्त्री लामिछाने भन्छन् : महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडिएको हो

फाइल तस्बिर ।

काठमाडौं,१०चैतःउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् ।

शनिबार आयोजित पार्टीको कार्यक्रममा लामिछानेले महरालाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताएका हुन् ।‘८÷१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ’, लामिछानेले भने ।

उनले अगाडि भने, ‘त्यसैले धेरै बिरामी अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले माओवादी उपाध्यक्ष महरालाई पक्राउ गरेको थियो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले अनुमति मागेकामा जिल्ला अदालत काठमाडौंले ४ दिन मात्र समय दिएको थियो । त्यो पनि उनको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालमा बस्न दिन भनेको थियो ।अदालतले दिएको ४ दिनको समय सकिएपछि महरा शुक्रबार हाजिरी जमानीमा छुटेका छन् ।

सत्ता साझेदारीमा रहेका प्रमुख चार दलबीच दोषी जोसुकै भए पनि नछाड्ने सहमति भएको गृहमन्त्री लामिछानेले बताए । ‘अब कोही व्यक्तिलाई जोगाउने होइन, व्यवस्था, संविधान जोगाउने हो भन्नेमा सबै दल प्रतिवद्ध छन्’, उनले भने ।दोषी कोही नउम्किने र निर्दोष कोही पनि नफस्ने भन्दै उनले कोही दोषी उम्किने अवस्था आएमा पदमा नबस्ने बताए ।

लामिछानेले आफूले कसैसँग प्रतिशोध नसाध्ने बताए । ‘राज्यमा बसेर प्रतिशोध साँध्न गएको होइन, हामी प्रतिशोध साँध्दैनौं । जनताले दिएको मतको दुरुपयोग गरेर हामी प्रतिशोध साँध्दैनौं’, उनले भने ।साभारःअनलाइनखबरबाट

 

Related posts

कांग्रेस बाराका सभापति राजेश राय यादवमाथि कारबाही गर्न उम्मेदवार भैयारामको माग

MadhesKhabar

पर्सा १ (ख) मा युवालाई चुन्न मतदाता आतुर छन् : ओमप्रकाश सर्राफ

MadhesKhabar

प्रधानमन्त्रीलाई सांसद यादवको प्रश्न : के सरकारले मधेसलाई मरुभूमी बनाउन खोजेको हो ?

MadhesKhabar

Leave a Comment