Madhes Khabar
स्थानिय

मधेसमा चीनकाे हस्तक्षेप बढेकाे भन्दै वीरगन्जमा विराेध प्रदर्शन

वीरगन्ज,४चैत:वीरगन्जमा आइतबार चुरे तथा वन जंगल संरक्षण अभियानले नेपालमा चीनकाे हस्तक्षेप बढेकाे भन्दै विराेध प्रदर्शन गरेको छ । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईन मानिने सिरहा र सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा चुरे पहाडको विनाश गर्दै आईरहेको भन्दै अभियानले विरोध प्रदर्शन गरेको हो ।

‘चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारेज गर, राष्ट्रिय स्वधिनता कायम गर’ लगायतका नारा लगाउँदै अभियानमा आबद्धहरुले प्रदर्शन गरेका हुन् । वीरगन्जको घण्टाघरबाट सुरु भएको विराेध जुलुश नगर परिक्रमा गरी पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बाधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले चुरेलाई उत्खन्न गरी विनाश गर्ने कार्य कदापी सह्य नहुने बताए । चिनिया ऋणमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपालीमाथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फसाउँदै आएको उनको आरोप थियाे ।

केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी (श्री चाईना रेल वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौ) का स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरेको थियो ।त्ही विषयमा जिल्ला अदालत सिराहाले मुद्दापन चलाइसकेको छ । तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध सदैव अभियान जारी राख्ने र मधेसलाई मरुभुमिकरण हुनबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।

अभियानका अभियान्ता चन्द्र प्रकाश सुवेदीले चिनियाँ विस्तारवाद र चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको भन्दै आक्रोश पोखे । चिनियाँ कम्पनीले देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको उनको भनाई छ । नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग लगायतका क्षेत्रको विकासको नाममा चुरे दोहन भइरहेको भन्दै उनले आपत्ती जनाए ।

कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।

Related posts

पर्साकाे ग्रामीण भेगमा आतंक मच्चाउने बाघ अझै नियन्त्रणमा आउन सकेन

MadhesKhabar

पर्सामा राष्ट्रिय भूमि आयोगको काममा सहयोग गर्ने दलहरुको प्रतिबद्धता

MadhesKhabar

वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह

MadhesKhabar

Leave a Comment