
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी स्थिरतामा बस्ने नसक्ने बताएका छन्। सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तकृयामा बोल्दै उनले नयाँ गठबन्धन बनाएर माओवादीले स्थिरता क्रमभंगता गरेको दाबी गरेका हुन्।
उनले आज नयाँ राजनीतिक ध्रुवीकरण र नयाँ उथलपुथल भएको दिन बनेको दाबी गरे। ‘माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो बस्ने होइन। गड्गडाउँदो नदी जस्तो बग्ने नदी हो। यो निरन्तरमा रमाएर स्थिरतामा बस्न सक्दैन।’उनले भने, ‘निरन्तरमा क्रमभंग गर्दै नयाँ नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी ।’
प्रचण्डले माओवादी राष्ट्र र जनताको घोडा भएको दाबी गरे। उनले समाजवादी मोर्चा मात्र नभई वृहतर कम्यनिष्ट एकताको पनि एकता गर्न लागेको बताए। उनले क्रान्तिको बाटो सहज नभएको उल्लेख गरे।
आफूलाई प्रतिक्रियावादीले अविश्वसनीय भन्ने गरेको बताउँदै उनले भने,‘प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु। उनीहरुका लागि छैन म विश्वसनीय, हुन पनि परेको छैन। आज नयाँ क्रम भंग गर्ने दिन बनेको छ। एकताबद्ध बनौं।’उनले झापा विद्रोह सुखानीका शहिद र जनयुद्धका शहिदका सपना पूरा गर्न संकल्प गर्ने दिन आज रहेको बताए।साभारःअन्नपूर्णपोष्टबाट

