वीरगन्ज,१०फाल्गुनःवीरगन्ज पब्लिक कलेज (बिपिसी) मा ‘बिपिसी ह्याकफेस्ट’ सम्पन्न भएको छ । सयुँक्त राष्ट्र संघद्वारा जारी दीगो विकासका लक्ष्यमध्ये ७ वटा लक्ष्यमा आधारित रहेर ह्याकाथन सम्पन्न भएको हो ।
सूचना प्रविधि पढीरहेका विद्यार्थीहरुलाई आफ्नो नविनतम सोचलाई प्रविधिको प्रयोग गरेर दीगो विकासका लक्ष्यलाई टेवा पुग्ने गरी परियोजना बनाउने उद्देश्यले ह्याकाथन आयोजना गरिएको थियो । विद्यार्थीलाई नयाँ आविष्कार र उद्यम तथा व्यवसायको क्षेत्रमा झनै सक्रिय हुन ह्याकाथनले प्रोत्साहन मिलेको आयोजकको दाबी छ ।
प्रारम्भिक चरणमा ४७ वटा समूहले दर्ता गराएको ह्याकाथनमा विभिन्न चरण पार गर्दै २० वटा समूहलाई आइडिया पिचिङ्गका लागि छनौट गरिएको थियो । जसबाट ९ वटा समूह ४८ घण्टे ह्याकाथन चरणमा प्रवेश गरेका थिए । पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विद्यार्थीहरुको सहभागिता रहेको यो ह्याकथन करिब ३ महिनादेखि सञ्चालित थियो । सहभागीहरुलाई एड्सबी मिडिया प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत हिमांशु बर्णवाल, प्रोग्रामिज कम्पनिका टेक कन्टेट राइटर विवेक पन्त, एक्स्पर्ट एजुकेसनका म्यानेजर आकाश नाथ जोशी र सन्तोष कर्णले प्रशिक्षण दिएका थिए ।
ह्याकाथनमा जीप्रा इन्कका सिइओ निशेश पटेल, प्रोग्रामिजका प्रिन्सिपल सफ्टवेयर इन्जिनियर संजीव कुमार पंडित, दराजका स्टार्टजेकि म्यानेजर सन्तोष लम्सालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
ह्याकाथनमा काठमाण्डौको टोली साधनले प्रथम स्थान हाँसिल गरेको छ । इस्लिंगटन कलेज काठमाडौंको टोली साधनले नगद ३० हजारसहित प्रोग्रामिजबाट एक वर्षको कोर्स प्याकेज, गिफ्ट, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
मेची मल्टिपल क्याम्पसको मेची मावरिक्स द्वितिय भएको छ । जसले नगद २० हजारसहित प्रोग्रामिजबाट एक वर्षको कोर्स प्याकेज, गिफ्ट, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । तृतिय हुने विरिंचि कलेजको एभरेस्ट टिमले नगद १० हजारसहित प्रोग्रामिजबाट एक वर्षको कोर्स प्याकेज, गिफ्ट, प्रमाणपत्र र मेडल प्राप्त गरेको बिपिसी ह्याकफेस्टका प्रोजेक्ट लिड संगीत न्यौपानेले जानकारी दिए ।
उत्कृष्ट आइडिया पिच अवार्डबाट ठाकुर राम बहुमुखी क्याम्पसको गिमिकर्स पुरस्कृत भए । मदन भण्डारी मेमोरियल कलेजको एफएमएसले उत्कृष्ट प्रविधि अवार्ड पायो । ठाकुर राम बहुमुखी क्याम्पसको गिमिकर्सले उत्कृष्ट स्कोपको अवार्ड पायो । मेची बहुमुखी क्याम्पसको मेची मावरिक्सले उत्कृष्ट सोसल इम्प्याक्ट अवार्ड पाएको आरती झाले जानकारी दिइन् । उनकाअनुसार सबै सहभागीहरु र आयोजक सदस्यहरुले इ–लर्निङ पार्टनर प्रोग्रामिजको तर्फबाट १ वर्षको लागि विभिन्न कोर्ष प्याकेज निशुल्क पाएका छन् ।
ह्याकाथनमा वीरगञ्ज पब्लिक कलेजका सहायक क्याम्पस चिफ अरबिन्द श्रेष्ठ, वीरगञ्ज पब्लिक कलेजका समन्वयक बासु कार्ण, वीरगञ्ज पब्लिक कलेजका समन्वयक जय किशन सहानी, कोड फर चेन्ज वीरगञ्जका पूर्व प्रोजेक्ट लिडर गौरव प्रताप श्रेष्ठ, सफ्टवेयर डेभलपर तथा अनुभवी टेक लिडर सीएम भट्ट, गिटहब क्याम्पसका एक्सपर्ट बंशज पौडेल लगायतको उपस्थिती रहेको थियो ।

