Madhes Khabar
समाज

प्रेस चौतारीकाे स्थापना दिवस : बारामा विद्यालय र संचारकर्मीलाई सहयोग

बारा,२२माघ: २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई आर्थिक, शैक्षिक तथा खेलकुद सामाग्री वितरण र संगठनमा आबद्ध दुई संचारकर्मीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

प्रेस चौतारी बाराले सिमरास्थित नेपाल अपांग सेवा संघको भवनमा संचालित सुस्त श्रवण र बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री र खाद्यान्नका साथै ४० हजारको चेक हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने शिक्षकको सेवासुविधाका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बारा इन्चार्ज अच्युत पौडेलले उक्त रकम बराबरको चेक उपलब्ध गराएका हुन् । केन्द्रीय सदस्य पौडेल र मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण गर्दै संघका अध्यक्ष वाग्लेले चौतारी बाराले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गरे । चौतारी बाराले गरेको सहयोगले विद्यालयलाई केही राहत भएको बताउँदै वाग्लेले स्थानीय सरकारबाट भने अपेक्षाअनुसारको सहयोग हुन नसकेको बताए । उक्त विद्यालयमा हाल सुस्त श्रवण र बौद्धिक अपांगता भएका करिब ४० जना बालबालिका अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य चौधरीले संसदीय विकास कोषबाट विद्यालयलाई यसअघि पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, केन्द्रीय सदस्य पौडेल, संस्थापक केन्द्रीय सदस्य गोकुल घोरसाईने, अपांग संघ बाराका अध्यक्ष वाग्ले, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीलगायतले मन्तब्य राखेका थिए ।

अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष निलिसा वर्माले गरेकी थिईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरवले स्वागत मन्तब्य राखेका थिए ।

यसैगरी स्थापना दिवसकै अवसरमा प्रेस चौतारी नेपाल बाराले संगठनमा आवद्ध दुई संचारकर्मीलाई आर्थिक सहयोगपनि उपलब्ध गराएको छ । सिमरास्थित संचार हब प्रालिको सभाहलमा आयोजित कार्यक्रममा चौतारी बाराले आफ्नो अक्षयकोषबाट संचारकर्मी रञ्जना खतिवडालाई १५ हजार र जिउतप्रसाद यादवलाई १० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

खतिवडाको केही समयअघि मेरुदण्डमा पलाएको ट्युमर र यादवको टाउकोको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियापछि स्वास्थ्यलाभ गरेका दुबैलाई स्थापना दिवसको अवसरमा राहतस्वरुप सहयोग उपलब्ध गराइएको थियो ।

चौतारी बाराले एक वर्षअघि २५औं स्थापना दिवसको अवसरमा अक्षयकोषको स्थापना गरेको थियो । चौतारीका केन्द्रीय सचिव कमलकुमार उपाध्यायले २१ हजार र केन्द्रीय सदस्य अच्युत पौडेलले पाँच हजार रकम कोषका लागि उपलब्ध गराएका थिए । सोही रकमबाट सहयोग गरिएको हो ।

मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उक्त रकम संचारकर्मी खतिवडा र यादवलाई हस्तान्तरण गरे । चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण सहसचिव इन्दिप कोईरालाले गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपाल बाराकी कार्यसमिति सदस्य तुलसा घिमिरेले स्वागत मन्तब्य राखेकी थिईन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद् पुष्पराज खतिवडा, सचिव जिउतप्रसाद यादव, सदस्य प्रलाद तिमिल्सिना, मनोजकुमार साह, दीपलाल पटेल, नेकपा एमाले वडा नंबर २ का अध्यक्ष रवीन्द्र खकुरेललगायतको उपस्थिती रहेको थियो ।

Related posts

ज्ञानदा एकेडेमीमा एसकेजी दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

MadhesKhabar

क्रियाशील युवा पत्रकार मञ्चले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा ३१ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई वडाध्यक्ष कानुले खुवाए निःशुल्क भोजन

MadhesKhabar

Leave a Comment