वीरगन्ज,६माघः वीरगन्जमा जारी नेशनल ईन्फोटेक (एनआई) कप टी–२० क्रिकेटमा शनिबार भएको पहिलो खेलमा अल्पाइन स्कूल विजयी भएको छ । नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा अल्पाइन स्कूलले वीरगन्ज कलेजलाई ७५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
१६२ रनको लक्ष्यका साथ जवाफी व्याटिंगमा उत्रिएको वीरगन्ज कलेज १९ ओभरमा अलआउट हुदैं ८६ रनमै समेटिएपछि खेल अल्पाइन स्कुलले जितेको हो ।वीरगन्ज कलेजका लागि आदित्य पासवानले १८ , सन्देश बैठाले १५ र सोहेल अन्सारीले १३ रन बनाए । बलिङतर्फ अल्पाइनका रामप्रित चौधरी र अफ्रिदी अन्सारीले समान चार चार विकेट लिए ।
त्यसअघि पहिले व्याटिङ गरेको अल्पाइनले पुरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६१ रनको योगफल खडा गरेको थियो । उसका लागि अफरोज अन्सारीले ३९ , इसरार अहमदले ३४ र अफ्रिदी अन्सारीले २८ रन बनाए । बलिङतर्फ वीरगन्ज कलेजका खगेन्द्र दास र सुरज पटेलले समान चार चार विकेट लिए ।

