
वीरगन्ज,२६पुषः वीरगन्ज नाकाबाट एक साता यता कृषि सामग्री कम्पनीको ६ रेल्वे र्याक युरिया मल भित्रिएको छ । सिर्सिया सुक्खा बन्दरगाह र सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे ¥याकमा ३/३ रेल्वे र्याक युरिया मल आएको हो । एक रेल्वे र्याकले करिब २ हजार ५ सय मेटन मल बोक्ने हुँदा दुबै नाकामा गरी हालसम्म १५ हजार मेट्रिक टन युरिया नेपाल आइपुगेको हो ।
यो नाकामा आएको मलको ठेकेदार स्विस सिंगापुर र आदित्य बिरला कम्पनी हो ।कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालय वीरगन्जका बरिष्ठ सहायक बलबहादुर शाहका अनुसार, कन्साइन्मेन्ट नम्बर ११५ र १२१ को मल कोलकत्ता बन्दरगाह हुँदै नेपाल आउन थालेको हो ।
आधा दर्जन रेल्वे ¥याक मल मध्ये ३ र्याक कम्पनी प्रादेशिक कार्यालय वीरगन्ज र ३ र्याक भैरहवा प्रादेशिक कार्यालयले पाउने शाहले बताए । उनका अनुसार, भैरहवाको मल ट्रकबाट सोझै भैरहवातर्फ लगिँदैछ । वीरगन्जको मल कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयमा भित्र्याउने क्रम जारी छ । जस अनुसा, बिहीबार साँझ सम्ममा कम्पनीको वीरगनज गोदाममा ३ हजार २ सय ५० मेट्रिक युरिया मल आएको छ।
स्विस सिंगापुर कम्पनीले ल्याइरहेको कूल ३० हजार मेट्रिक टन युरिया मलमध्ये कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले १२ हजार, भैरहवा प्रादेशिक कार्यालयले १० हजार र बिराटनगर प्रादेशिक कार्यालयले ८ हजार मेट्रिक मल पाउनेछन् । बिराटनगरको मल बिराटनगर नाकाबाटै भित्रिँदैछ ।
त्यसैगरी, आदित्य बिरला कम्पनीले ल्याइरहेको ३० हजार मेट्रिक टन युरिया मलमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ८ सय, भैरहवा प्रादेशिक कार्यालयले ९ हजार ५ सय र बिराटनगर प्रादेशिक कार्यालयले ८ हजार ७ सय मेट्रिक मल पाउनेछन् ।
कम्पनीको गोदाममा मल भित्रिए लगत्तै माग भएका जिल्लाहरुमा क्रमशः परिचालन समेत गर्न थालिएको शाहले जानकारी दिए । हाल किसानलाई गहुँ बालीका लागि युरिया मलको आवश्यकता रहेको र मातहतका जिल्लाहरुबाट माग आइरहेकाले क्रमशः ती जिल्लाहरुमा मल परिचालन गरिएको उनले बताए ।
साता यता कम्पनी प्रादेशिक कार्यालय वीरगन्जबाट मात्र धुलिखेल, काठमाडौं, त्रिशुली, गजुरी, भरतपुर, हेटौंडा, सिन्धुली,जनकपुर, ढल्केवर, चन्द्रपुर, कलैया लगायतका कार्यालयहरुमा गरी २ हजार मेट्रिक युरिया मल परिचालन भइसकेको छ। यसअघि कोटा छुट्याइएको मधेश प्रदेशका जिल्लाहरुमा तथा जिम्मेवारी रहेका बागमती प्रदेशका जिल्लाहरुमा समेत प्रादेशिक कार्यालयबाटै मल परिचालन भइरहेको उनले बताए ।साभार : ईकान्तिपुरबाट

