काठमाडौं,२२पुष:जनता समाजवादी पार्टी(जसपा)ले राष्ट्रिय सभाकाे सदस्यमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जसपाको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
‘जसपाले बढी सिट मागेका थियौं। तर गठबन्धनको बैठकमा जसपाले एक सिट पायो। सोहीअनुसार आजको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।’बस्नेतले भने।
चौधरी गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन्। उनी जसपाकी कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन्।
गठबन्धनको आइतबार बिहान बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने सहमति भएको छ।
मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ गरी जम्मा ३७४ जना मतदाताले मतदान गर्नेछन्।
मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १०७४४ मतभार कायम हुनेछ।साभार:अन्नपूर्ण पाेष्ट

