Madhes Khabar
धर्म/संस्कृति

रामकाे ससुराली जनकपुरबाट अयाेध्या पठाइयाे ११ हजार वटा काेसेली

जनकपुरधाम,१९पुष: भारतको आयोध्यामा नवनिर्मित राम मन्दिरका लागि जनकपुरबाट बिहीबार करिब ११ हजार वटा कोसेली पठाइएको छ । जनवरी २२ तारिखमा प्राण प्रतिष्ठा गरिने राम मन्दिरका लागि जनकपुरबाट करिब ५ सय थरिका ११ हजार वटा कोसेली अयाेध्या पठाइएको हो ।

सुनचाँदीको गरगहना, फलफुल, पान–मखान, कपडा, मिठाइका अनेक ब्यञ्जन, चाँदीकै थाल–बटुको, श्रृंगारका सामाग्री र फर्निचरलगायतका समान भारतको आयोध्या पठाइएको हो ।

कोसेलीमा चाँदीले बनाइएको तिर–धनुष आकर्षक छ । चाँदीकै खराउ र अन्य आभुषण पनि पठाइएको छ । दुई वटा ट्रकमा कोसेली लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, उनका उत्तराधिकारी महन्थ रामरोशन दाससहित जनकपुरका करिव ५ सय भन्दा बढी मानिस बिहीबार आयोध्या प्रस्थान गरेका छन् ।

आयोध्याको राम मन्दिर ट्रष्टलाई शनिबार कोसेली हस्तान्तरण गरिने महन्थ दासले बताए । कोसेली बोकेर आयोध्या प्रस्थान गरेका जनकपुरबासीलाई भने मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, कांग्रेसका नेता बिमलेन्द्र निधि र जनकपुरधाम उप–महानगरका मेयर मनोज साहले बिदाई गरेका थिए ।

मुख्यमन्त्री यादवले हातमा कोसेली बोकेर जनकपुरको बिभिन्न भागको परिक्रमा गर्दै उनीहरुलाई बिदाई गरेका थिए । ‘माता सीताले ससुरालीमा नयाँ घर पाउनुभएको छ । हामी माइती पक्षका लागि यो सुखद खबर हो,’ मुख्यमन्त्री यादवले भने,‘त्यो नयाँ घरमा कुनै समानको अभाव नहोस् भनेर ससुराली जनकपुरबाट कोसेली पठाइएको छ ।’

आयोध्याको राम मन्दिरमा प्रतिमा बनाउन यसअघि नेपालको कालीगण्डकीबाट दुईवटा शिला पठाइएको थियो । कालीगण्डकीबाट झिकिएको दुईवटा भिमकाय शिला कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा गत माघ १९ गते आयोध्या पुर्‍याइएको थियो ।

कोसेली बिदाई कार्यक्रममा नेता निधिले त्रेतायुगदेखि नै जनकपुर र आयोध्याको सम्बन्ध रहेकाले राम मन्दिरको प्राणप्रतिष्ठामा यहाँबाट पठाइएको कोसेलीले कसिलो सम्बन्ध बनाउने बताए ।साभार:ईकान्तिपुरबाट

Related posts

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

दिपावलीमा झिलिमिली वीरगन्ज (फोटो फिचर)

MadhesKhabar

मुस्लिम बालबालिकामा संस्कृत मोह

MadhesKhabar

Leave a Comment