Madhes Khabar
राजनीति

शेयर बजारमा भइरहेको आर्थिक अपराधमा मन्त्रीसमेत संलग्न छन् : प्रदीप यादव

वीरगन्ज,१२ पुष:जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नेपाली शेयर बजार अपराधीहरूको कब्जामा रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बाेल्दै सांसद यादवले शेयर बजारमा भइरहेको गम्भीर आर्थिक अपराधमा मन्त्री, कर्मचारी र धितो बोर्डका अध्यक्ष प्रत्यक्ष रूपले संलग्न रहेको आरोप लगाए ।

पूर्व वन तथा वातावरण मन्त्री यादवले भने, ‘धितो बोर्ड नै मतियार बनेर लगानीकर्तामाथि अत्याचार गरिरहेको छ भने सीमित व्यापारी र बिचौलियालाई पोस्ने काम भइरहेको छ । यसमा नेपाल सरकारका मन्त्रीहरूको पनि संलग्नता छ, कर्मचारीको मिलेमतो छ भने धितो बोर्डका अध्यक्षको पनि संलग्नता देखिन्छ ।’

शेयर बजार लगातार घटिरहेको अवस्थामा घाटामा गएका बैङ्कले प्रिमियम मूल्यमा आइपिओ जारी गरेर अर्बौँ रुपैयाँ लगानीकर्तालाई झुक्क्याएर उठाउन सफल भएको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवको भनाई छ । घाटामा गइरहेका घोराही सिमेन्ट, हिमालयन इन्सुरेन्स लगायतका कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएर अर्बौँ रुपैयाँ सङ्कलन गर्न दिने नै धितो बोर्डका अध्यक्ष भएको यादवको आरोप छ ।

३३ खर्ब भन्दा माथि लगानी भएको शेयर बजारमा लगातार घाटा लाग्दा लगानीकर्ता आत्महत्या गर्न र शेयर बजारबाट पलायन हुन बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरे । बिमा कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति दिँदाको प्रावधान र सम्बन्धित कम्पनीका विभिन्न निर्णय, कागजपत्र तथा पत्राचारको छानबिन गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।

Related posts

सरकारले नै प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको सांसद यादवको आरोप

MadhesKhabar

पर्सामा सांसदका उम्मेदवार प्राय पुरानै अनुहार

MadhesKhabar

कांग्रेस पर्साकाे बैठकले के के गर्‍याे निर्णय ?

MadhesKhabar

Leave a Comment