Madhes Khabar
मधेस प्रदेश

मुम्बईबाट उद्दार गरिएका रौतहटका ८ जना बालबालिकलाई अभिभावकको जिम्मा लगाइयो

रौतहट,८ पुष : सामुदायिक विकास तथा सचेतना नेपाल र ग्रामीण विकास केन्द्र रौतहटको समन्वयमा बालश्रम गर्न भारत पुगेका ८ जना बालाबालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ । उक्त संस्थाले राष्ट्रिय बाल अधिकार परिषद र मिसन रेसक्यू अपरेशन इन्डीयाको समन्वयमा बालकहरूलाई उद्धार गरी नेपाल ल्याएको हो ।

उद्दार गरी ल्याइएका बालकलाई शनिबार जिल्ला प्रहरी कार्यालय रौतहटमा एक कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख र राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधिलगायतका सरोकारवालाहरुको रोहबरमा अभिभावकको जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले जानकारी दिए।

उद्दार गरिएका बालकहरुमा राजपुर नगरपालिकाका २ जना, इशनाथ नगरपालिका २ जना,दुर्गा भगवती गाउँपालिकाका २ जना र गढीमाई नगरपालिकाका २ जना छन् । ती बालकहरू ६ देखि ८ महिना पहिले विभिन्न प्रलोभनमा पारी चिनजानका आफन्तसँग भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा मिसन रेसक्यू अपरेशन इन्डीयाले भारतीय प्रहरीको सहयोगमा गत अगस्टमा उद्दार गरेको थियो ।

ग्रामीण विकास केन्द्र रौतहटका प्रतिनिधि ममता झा र सामुदायिक विकास तथा सचेतना नेपालको कार्यकारी निर्देशक दिलिप कोइराला, सचिव अनन्त बानिया भारतको मुम्बई पुगी बाल कल्याण समिति मुम्बई सहर र महिला तथा बालबालिका विभागसँग समन्वय गरी बालकलाई नेपाल ल्याइ अभिभावकको जिम्मा लगाएका हुन् ।

६ महिनाअघि सम्पर्कविहीन भएको छोरा भेटिएपछि नुसरत बेगमले खुसीहुँदै भनिन्,’अब छोरालाई स्कुल पढाउँछु। राम्रोसँग हेरविचार गर्छु।’ सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी दिलीप कोइरालाले अझै भारतका विभिन्न बालगृहमा ६ जना बालक रहेको र उनीहरुलाई नेपाल फर्काउन कागजी प्रक्रिया थालेको बताएका छन्। साभारः अन्नपूर्ण पोष्टबाट

Related posts

संघ सरकारविरुद्ध मधेश सरकारको आन्दोलन सुरु

MadhesKhabar

मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

MadhesKhabar

पर्सामा रहेका प्रदेश सरकार मातहतका कार्यालयहरुको विकास बजेट खर्च ४० प्रतिशत मात्रै

MadhesKhabar

Leave a Comment