मधेसखबर
साउन २९ , वीरगञ्ज : प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले आन्दोलन सुरु गरेको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सहित प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरुले संघ सरकारले प्रहरी समायोजन नगरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा आइतवारदेखि धर्नामा बसेका हुन् । प्रदेश सरकारले पहिलो चरण अन्तर्गत सात दिनसम्म धर्नामा बस्ने जनाएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनका लागि आफुहरु आन्दोलनमा उत्रीन बाध्य भएको बताए । मुख्यमन्त्री राउतले संघ सरकारले प्रहरी प्रशासन सहित विभिन्न अधिकारहरु प्रदेश मातहत नदिएसम्म संघीयताको सफल कार्यान्वयन हुन नसक्ने भएकोले आन्दोलनको विकल्प नरहेको बताए ।
यस अघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री देउवा सहित सत्ता गठबन्धन दलका प्रमुख नेताहरुलाई ज्ञापनपत्र बुझाएका थिए । साथै मधेस प्रदेश सरकारका गृहमन्त्रीको नेतृत्वमा प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाइएको थियो ।
तर केही सुनुवाई नभएपछि पुर्व निधारित सुचि अनुसार आन्दोलनमा उत्रिएको प्रदेश सरकारले जनाएको छ ।
धर्नामा मुख्यमन्त्री राउत सहित गृह तथा संचार मन्त्री भरत प्रसाद साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव लगायत सबै मन्त्री र प्रदेश सांसदहरु उपस्थित छन् ।