वीरगन्ज, २८ जेष्ठ : आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा पर्सामा रहेका मधेस प्रदेश सरकार मातहतका विकास निर्माणसँग सरोकार राख्ने सरकारी कार्यालयहरुले ४० प्रतिशत मात्र विकास बजेट खर्च गर्न सकेका छन् ।
प्रदेश लेखा इकाइ कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा पर्सा जिल्लास्थित मधेस प्रदेश मातहतका सरकारी कार्यालहरुको विकास बजेट ३ अर्ब ७५ करोड ५० लाख ५२ हजार रुपैयाँ रहेकोमा आइतबारसम्ममा जम्मा १ अर्ब ५१ करोड १६ लाख ५९ हजार ६ सय ४८ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।
मन्त्रालयगत रुपमा हेर्दा अर्थ मन्त्रालय मातहतका कार्यालयले १९ लाख ५० हजार रुपैयाँ बजेटमध्ये १८ लाख १७ हजार ६ सय ४५ रुपैयाँ खर्च गरेका छन् । उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गतका कार्यालयको विकास बजेट २७ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेकोमा ७ करोड ३४ लाख ६३ हजार ९७ रुपैयाँ ६२ पैसा मात्र खर्च भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयहरुको विकास बजेट ८ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेकोमा ३ करोड २६ लाख ७७ हजार ७ सय ८ रुपैयाँ ६१ पैसा मात्र खर्च हुन सकेको छ । सबै भन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरुको विकास बजेट ३ अर्ब ३ करोड ६२ लाख ८३ हजार रुपैयाँमध्ये १ अर्ब २३ करोड ५७ लाख ६५ हजार २ सय ८ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।
शिक्षा तथा समाज कल्याण मन्त्रालय मातहतका कार्यालयहरुको वार्षिक विकास बजेट ३५ करोड ८६ लाख ६० हजार रुपैयाँ रहेकोमा १६ करोड ७९ लाख ३५ हजार ९ सय ८९ रुपैयाँ मात्र खर्च भएको छ । १ अर्ब ५६ करोड ६६ लाख २० हजार रुपैयाँ विकास बजेट रहेको पूर्वाधार विकास कार्यालय पर्साले ५४ करोड ८ लाख ४८ हजार ७ सय ९ रुपैयाँ ५० रुपैयाँ मात्र खर्च गरेको छ ।
१ अर्ब १ करोड ७९ लाख ५७ हजार रुपैयाँ बजेट रहेको शहरी विकास तथा भवन कार्यालय पर्साले हालसम्म ४३ करोड १८ लाख ७७ हजार ६ सय ४७ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । २५ करोड ३९ लाख ८० हजार रुपैयाँ विकास बजेट रहेको जलश्रोत तथा सिँचाई विकास डिभिजन पर्साले १० करोड ७८ लाख ६३ हजार ९ सय ४९ रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
१९ करोड ५८ लाख ४७ हजार रुपैयाँ बजेट रहेको भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन पर्साले हालसम्म जम्मा १५ करोड ४२ लाख ८ हजार ६ सय ८६ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । सामाजिक विकास इकाइ कार्यालय पर्साले ३४ करोड ९५ लाख रुपैयाँ बजेटमध्ये १६ करोड ७८ लाख ७१ हजार ७ सय ५९ रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
प्रदेश लेखा इकाइ कार्यालय पर्साका प्रमुख श्यामउदय ठाकुरले मधेस प्रदेश सरकार मातहतका कार्यालयहरुले विकास बजेट खर्च गर्न नसक्नुको प्रमुख कारण जिल्लाले पाउने सशर्त बजेट ढिलो गरी आउनु रहेको बताए । ‘यस वर्ष १ महिनाअघि मात्रै सशर्त बजेट जिल्लामा आइपुगेको हो,’ उनले भने । यस बाहेक कतिपय विकास निर्माणका काम चालु अवस्था रहेकाले पनि बजेट कम खर्च भएको देखिएको उनले बताए । आर्थिक वर्ष सम्पन्न हुनुअघि हालको भन्दा बढी विकास बजेट खर्च भइसक्ने पनि उनले दाबी गरे । साभार : इकान्तिपुर