वीरगन्ज,४मंसिरःश्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्बमा आइतबार बेलुकी र मध्यरातमा छठका ब्रतालु र भक्तजनले काेशी भरेका छन् ।
सँझिया घाटेका दिन साँझ सुर्य भगवान र छठीमातालाई अर्घ दिएर ब्रतालुहरु छठघाटबाट घर फर्किएपछि बेलुकी घरमा र मध्यरात अर्थात तेस्राे प्रहरमा छठघाटमा पुगेर काेशी भर्ने चलन छ ।
छठ पूजामा खासगरि सुर्य भगवान र छठी माताको पुजा आरधाना गरिन्छ । कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथीबाट छठ पूजाको ब्रत प्रारम्भ हुन्छ ।
पहिलो दिन चौथी तिथीका दिन बिहान ब्रतालुहरु घर नजिकको ताल , पोखरी वा नदिमा गइ नहुाइ धुवाइ गरि चोखो भइ पियाज र लहसुन समेत नमिसाइएको शुद्ध शाकाहारी एंव सात्वीक भोजन ग्रहण गर्छन् । यस दिनलाइ भोजपुरी र मैथीली भाषमा ‘नहाए खाएके’ दिन भनिन्छ ।
दोश्रो दिन भोलि पल्ट पन्चमी तिथीका दिनलाइ ‘खरना’ र ‘रसियाव रोटीको दिन’ भन्ने गरिन्छ । यसदिन साँझ पख माटोले बनाइएको नयाँ एंव चोखो चुल्होमा ब्रतालुले आँपको सुकेको दाउरा बालेर त्यसमा गुण (भेली) र चामल मिसाएर बनाइएको खीर (रसियाव) र गहुको पिठोबाट बनाइएको रोटी प्रसादका रुपमा तयार पार्दछन् ।
चौथीका दिन देखि उपवास बसेका ब्रतालुहरुले उक्त प्रसाद (रसीयाव र रोटी) चुल्होकै छेउमा अग्नि (आगो) मा चढाएर छठी माताको पूजा आरधान गर्छन् ।त्यसपछि प्रसादको केहि अंश गाइलाइ खुवाएपछि बाँकी प्रसाद आफुले ग्रहण गरि परिवारका सदस्यपनि खान दिन्छन् ।रसीयाव र रोटीको प्रसाद ग्रहण गरे पछि ब्रतालुको ३६ घण्टे निराहार र निर्जल उपवास शुरु हुन्छ ।
षष्ठीको बेलुकी छठ पूजा गरिएका घरमा कोशी भर्ने (माटोको कलश र हात्ती आकृतिको मूर्तीको पूजा गर्ने) चलन छ । यो विधी सबै ब्रतालुलले गर्दैनन् । जसले भाकल गरेको हुन्छ , उसैले षष्ठीका दिन बेलुकी घरको आँगनमा कोशी भर्ने गर्छन् ।
कोशीका लागि घरको आँगनमा नौ वा १३ वटा हरियो उखु (पात सहितको ) लाइ मुठा बनाएर फेदको पातको तल चोखो बस्त्रले बाधेर उल्टो पिरामिडको आकारमा छठ्याइन्छ ।उखुको बिचमा माटोले बनाइएको कलश र हात्तिको आकृतिको मुर्ती राखन्छ । हरेक उखुको फेदमा माटोको ढकनी राखेर त्यसमा छठीमाताका लागि बनाइएका प्रसाद र फलफुलहरु राखिन्छ ।ती प्रत्येक ढकनीमा माटोको दियो बालेरपनि राखिन्छ । त्यसपछि ब्रतालु र घरपरिवारका साथै छरछिमेकले उखु ठडयाइएको स्थानलाइ तीन वा पाच पटक परिक्रमा गर्दै धुप तथा जल अर्पण गर्दै भूइमा शीर छुवाएर पूजा आरधाना गर्छन् । त्यसबेला महिलाहरुले छठीमाताको पारम्परिक गीतपनि गाउदै आर्शीवाद माग्छन् ।
षष्ठीको मध्यरातमा परिवारका पुरुष सदस्यहरुले कोशीमा पूजा गरिएको उखु र पूजन सामाग्री एंव प्रसाद लिएर छटघाट बनाइएको जलाशय छेउमा लिएर जान्छन् । त्यहा पनि आँगनमा गरिएको विधी जस्तै उखुलाइ छठयाएर दियो र धुप बाली पूजापाठ गरिन्छ ।
त्यसपछि कोशी (माटोको कलश र हात्ती आकृतिको मूर्र्ती) जलाशयमै डुबाएर उखु र अन्य प्रसाद लिइ उनिहरु घर फर्किएपछि छठको निराहार निर्जल ब्रत लिएका ब्रतालुहरु रातिको तेश्रो प्रहरमै फेरि नुहाइ धुवाइ गरि चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सुर्य नउदाउदै छठ घाटमा पुग्छन् ।
सिरसोता वरिपरि बसेर छठी माताको गीत गाँउदै उनिहरुले श्रीमान् ,छोराछोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य , दीर्घायु र प्रगतीको लागि छठी मातासंग अनुनय विनय गर्छन् ।
सप्तमी तिथीका दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनिहरुले सुर्य र छठीमातालाइ अर्घ दिन्छन् ।
सुर्यलाइ अर्घ दिए पछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनिहरु आ आफनो घर फर्किन्छन् । उदाउदा सुर्यलाइ अर्घ दिएपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । त्यस दिनलाइ ‘परना’ वा ‘पारन’ भन्ने चलन छ ।