काठमाडौं,२९कार्तिक : हङकङमा चलिरहेको चारदेशीय महिला टी–२० क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।बुधबार भएको आफनो पहिलो खेलमा जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएपछि हार व्यहोरेको हो ।
नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।ओपनर विन्दु रावल खाता नै नखोली पभेलिन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न गएकी सम्झना खड्काले पनि खाता खोल्न सकिनन् ।अर्की ओपनर पूजा महतो टिमको स्कोर ११ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भइन् ।काजल श्रेष्ठ ९ र सिता राना मगर १५ रनमै आउट भइन् ।
यसअघि पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।बलिङतर्फ नेपालका संगिता राईले २ तथा कप्तान बर्मा, रुबिना क्षेत्री र पूजा महतोले समान १ विकेट लिए ।
प्रतियोगितामा नेपालले बिहीबार हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।

