वीरगन्ज,२४कार्तिक : वीरगन्जमा शुक्रबार नेपालको वीरगन्ज र भारतको बिहारको महिला फुटबल टिमबिच भएको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।
वीरगन्ज गोल्डकप फुटबल २०८० अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भारतको बिहारलाई २–० ले हराउँदै नेपालको वीरगन्ज युथ एकेडेमी विजयी भएको हो ।
आदर्शनगर रंगशालामा भएको मैत्रीपूर्ण खेलमा वीरगन्जको जीतमा अनिषा मगर र कविता गुरुंगले गोल गरेका हुन् । कूल ७० मिनेट खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । वीरगन्जले दुवै गोल दोश्रो हाफमा गरेको हो । खेलको ४७ औं मिनेटमा सुनिता सुनारलले दिएको पासमा अनिषाले गोल गर्दै आफनो टिमलाई १–० को अग्रता दिलाएकी थिइन् । खेलको ६१ औं मिनेटमा कविताले थप एक गोल गर्दै वीरगन्जलाई २–० को जीत दिलाउन सफल भइन् ।
उक्त मैत्रीपूर्ण खेलको वुमेन अफ दी म्याच वीरगन्जका लागि दोश्रो गोल गरेकी कविता गुरुंग घोषित भइन् । मैत्रीपूर्ण खेलको विजेता र उपविजेता दुवै टिमलाई आयोजक भेट्रान सिटी क्लबले ट्रफी र मेडल प्रदान गरेको थियो ।
कात्तिक १८ देखि जारी वीरगन्ज गोल्डकप फुटबलको उपाधिका लागि फाइनल खेल शनिबार हुदैछ । उपाधिका लागि शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँका साथै शील्ड र मेडल प्राप्त गर्नेछन् ।

