काठमाडौं,२३कार्तिक : आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजील्यान्डले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
भारतको बैंगलुरुमा बिहीबार भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै न्युजील्यान्ड सेमिफाइनल नजिक पुगेको छ। श्रीलंकाले दिएको १७२ रनको लक्ष्य न्युजील्यान्डले २३.२ ओभरमा पूरा गरेको थियो।
न्युजील्यान्डका लागि देभोन कनवे र रचिन रविन्द्रले उत्कृष्ट साझेदारी गरेका थिए। देभोन ४५ रन र रचिन ४२ रनमा आउट भएका थिए।
त्यस्तै मेरिल मिचेलले ४३ रनको योगदान दिँदा कप्तान केन विलयम्सन १४ रनमा बोल्ड भएका थिए। ग्लेन फिलिप्स १७ रनमा अविजित रहँदै न्युजील्यान्डलाई विजयी बनाएका थिए। श्रीलंकाका एन्जिलो माथिउजले २ विकेट र दिल्सन र दुसमन्थाले एक-एक विकेट लिए।
त्यसअघि श्रीलंकालाई सस्तैमा अलआउट गर्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए। टस जितेर ब्याटिङ गरेको श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५१ रन बनाएका थिए। त्यस्तै महिश थिकसानाले अविजित ३८ रन बनाउँदा एन्जिलोले १६, शिल्भाले १९ र दिल्शानले १९ रन बनाउँदै पेभेलियन फर्किएका थिए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्।
न्युजील्यान्डलाई सेमिफाइनल पुग्न पाकिस्तान र इंग्ल्यान्डबीचको खेल महत्वपूर्ण बनेको छ। शनिबार हुने उक्त खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई कम्तिमा २८७ रनले जित्नुपर्ने भएको छ।
क्रिकेट विश्लेषक मोहनदास मिनोनका अनुसार पहिले ब्याटिङ गर्दा पाकिस्तानले इंगल्यान्डलाई २८७ रनले हराउनुपर्छ वा अर्कोतर्फ इंगल्यान्डलाई २८४ बल अगावै अलआउट गर्नुपर्छ। जुन असम्भवजस्तै रहेको उनले ट्वीटरमा उल्लेख गरेका छन्।साभार:अन्नपूर्ण पाेष्टबाट

