बारा,१कार्तिक : बारामा बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषाध गाँजाको तस्करी भइरहेको खुलासा भएको छ । महागढीमाई नगरपालिकाको गञ्जभवानीपुरबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजासहित त्यसका चालकलाई पक्राउ गरेपछि यो रहस्य खुलासा भएको हो ।
प्रहरीले साढे दुई किलो गाँजासहित एम्बुलेन्सका चालक भारतीय नागरिक ३२ वर्षीय रामविश्वास पासवानलाई पक्राउ गरेको हो ।
बीआर ०५ पिबि ५५२३ नम्बरको भारतीय एम्बुलेन्समा गाँजा ओसारेको आरोपमा पासवानलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
बरामद गाँजा र एम्बुलेन्ससहित पक्राउ परेका चालक पासवानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

