वीरगन्ज,२२असाेज: भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा सोमबार न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराएको छ ।
३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुदैं २ सय २३ रनमात्र बनाएपछि खेल न्युजिल्यान्डले जितेको हाे । नेदरल्यान्ड्सका लागि कालिन अर्केमानले अर्धशतक पूरा गरे । स्कट इडवार्डसले ३० र सेब्रान्ड इगिलब्रटले १९ रन जोडे ।
मिचेल सान्टनेरले १० ओभरमा ५९ रन खर्चेर ५ विकेट लिए । म्याट ह्यारीले ३ र रचिन रविन्द्रले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे न्युजिल्यान्डले पुरा ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो । ओपनर विल योङ, रचिन रविन्द्र र टोम लाथमले अर्धशतक पूरा गरेका थिए । अर्का ओपनर डेभोन कनवेसँग योङले पहिलो विकेटका लागि ६७ रन जोडेका थिए । कनवे ३२ रनमा आउट भएका थिए ।
योङले भान मेक्रेनको बलमा आउट हुनुअघि ८० बलमा ७ चौका र २ छक्काको मद्दतमा ७० रन बनाएका थिए । योङले दोस्रो विकेटका लागि रविन्द्रसँग ७७ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डविरुद्धको खेलमा शतक प्रहार गरेका रविन्द्रले भान डेर मेर्वेको बलमा आउट हुनुअघि ५१ बलमा ५१ रननै बनाएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।
नेदरल्यान्ड्सका लागि दत्त, मिकिरेन र डेर मेर्वेले समान २ विकेट र बास डे लिडेले १ विकेट लिए । नेदरल्यान्ड्ले पहिलो खेलमापनि हार बेहोरेको थियो । न्युजिल्यान्डले लगातार दुई खेल जित्दा नेदरल्यान्ड्सले भने दुबै खेल गुमाएको छ ।

