सिमरा,३१जेठ:बाराकाे सिमरामा सम्पन् दोस्रो जितपुरसिमरा क्रिकेट कपको उपाधि रौतहटको गरुडा नगरपालिकाले जितेको छ। सिमरास्थित सेज क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा मधेस प्रदेश लिग विजेता बारा जिल्ला क्रिकेट संघलाई एक विकेटले पराजित गर्दै रौतहटले उपाधि उचालेकाे हो।
बाराले दिएको एक सय ३२ रनको लक्ष्य पछ्याएको रौतहटले १९.२ ओभरमा ९ विकेट गुमाउँदै रोमाञ्चक जित हासिल गर्यो। रौतहटका लागि सोबेन्द्र पासवानले निर्णायक पारी खेल्दै ३८ रन बनाए। नितेश यादवले ३५ रन र शैलेन्द्र कुशवाहाले २२ रनको योगदान दिए।
बलिङतर्फ बाराका आदिल अंसारी र निखिल सिंहले समान ३/३ विकेट लिए भने भुलावन सहनी र जितेन्द्र यादवले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बाराले १८.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३१ रन बनाएको थियो। बाराका लागि निकेश गुप्ताले सर्वाधिक २७ रन बनाए। त्यस्तै निरजकुमार यादवले २६, त्रितराज दासले २२ तथा कप्तान अरनिको यादवले १८ रनको योगदान दिए।
बलिङतर्फ राैतहटका सन्नी साह र राहुल गुप्ताले समान ३/३ विकेट लिँदा नितेश यादवले २ विकेट हात पारे।
उपाधि विजेता रौतहटले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बाराले ५० हजारमा चित्त बुझायो। प्रतियोगिताको प्लेयर अफ द सिरिज तथा उत्कृष्ट ब्याटर रौतहटका नितेश यादव घोषित भए। उनले १५ हजार नगद प्राप्त गरे। उत्कृष्ट बलर बाराका सेराज हवारी घोषित भए। उनले पाँच हजार नगद पुरस्कार पाए।
जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, एमाले नगर अध्यक्ष त्रिलोक बिक्रम शाह, वडा नम्बर २ का वडा सदस्य विशाल घिमिरे, राप्रपाका लक्ष्मण रानाभाट, एमालेका पूर्णचन्द्र तिमिल्सिना, शुभारम्भ कलेजका अध्यक्ष लाल पुडासैनी, जितपुरसिमरा स्पोट्र्स क्लबका अध्यक्ष सोमलाल बम्जनलगायतले पुरस्कार वितरण गरेका थिए।
जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जितपुरसिमरा स्पोट्र्स क्लबको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा बारा, पर्सा, मकवानपुरसहित ६ टिमको सहभागिता रहेको थियो। साभार:अन्नपूर्णपाेष्ट

